|

धनकुटा : धनकुटामा जारी ११ औँ सहिद रारा गोल्डकपको तेस्रो दिनमा भएको खेलमा आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। रारा फुटबल क्लब रारा गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ।

शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब सेमिफाइनल पुगेको हो।

खेलको १९ औँ र ४८ औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै भोजपुरलाई २–० गोलको अग्रता दिलाए पनि खेलको ६६ औँ मिनेटमा राराका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्‍याए। खेलको ८१ औँ मिनेटमा राराका राम वाजीले गोल गर्दै खेल २–२ बराबरीमा पुर्‍याए। यस्तै खेलको ८९ औँ मिनेटमा राराका नवयुग श्रेष्ठले गोल गर्दै ३–२ अग्रता दिलाउँदै टोलीलाई जित दिलाए।

खेलको ८५ औँ मिनेटमा राराका विशाल घलान र भोजपुरका रोजिन माझीले झगडा गरेपछि रातो कार्ड पाएर बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भयो। पहिलो हाफको इन्जुरी समयमा राराका विदेशी खेलाडी टायाले गरेको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो। खेलका प्लेयर अफ द म्याच राराका राम वाजी घोषित भए। उनले नगद ७ हजार रुपैयाँ र ट्रफी हात पारे।

प्रतियोगिता अन्तर्गत आइतबार सलहेश युथ क्लब सिराहा र गोल्डेन युथ क्लब सुनसरीबीच पहिलो चरणको अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। यसअघि शुक्रबार भएको खेलमा रियल स्टार युथ क्लब हेटौँडालाई हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा सेमिफाइनल पुगेको छ भने डाँडाबजार युथ क्लब धनकुटालाई हराउँदै मोरङको डाँगिहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक चेम्जोङले जानकारी दिए।

गतवर्षका विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप २०५८ सालदेखि सञ्चालन गर्न थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.