|

धनगढी : वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेका कैलालीको गौरीगंगा नगरपालिकाका ६ बनबेहेडाका गोरखबहादुर खवास शुक्रबार बिहान निकै प्रसन्न थिए।

नाैवर्षदेखि मलेसियामा कामदारका रुपमा रहेका खवासले पहिलोपटक आफ्नै घर नजिकबाट श्रम स्वीकृति पाएपछि काठमाडौं जानुपर्ने झन्झट हरेको भन्दै हर्षित भए। उनले भने, ‘यो तेस्रो श्रम स्वीकृति हो। यसभन्दा पहिले लाइनमा घण्टौं बसेर श्रम स्वीकृति लिनुपर्ने थियो। त्यो अवस्थाको अन्त्य भएको छ।’उनीसँगै धनगढीका रामबहादुर सिंहले पनि आफ्नै ठाउँमा श्रम स्वीकृति पाएपछि निकै सहज भएको बताए। बैदेशिक रोजागरीबाट बिदामा आएका उनले पहिलो पटक आफ्नै गाउँ ठाउँमा श्रम स्वीकृति लिन पाउँदा ठूलो राहत मिलेको प्रतिक्रिया दिए।

‘काठमाडौं जाँदा समय र पैसा दुबैको नोक्सान हुन्थ्यो। अब त्यसको बचत हुने भयो। त्यसैमाथि हामीले पाउने दुःखको पनि अन्त्य भयो जस्तो लाग्यो’सिंहले बताए।उनले यस कार्यालयले प्रदान गर्ने सेवाबारे आम नागरिकलाई जानकारी गराउनुपर्ने बताए। पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति दिन थालिए पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सहज हुने अपेक्षा गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो दिन शुक्रबार दुई जनालाई श्रम स्वीकृति प्रदान गरेर वैदेशिक रोजगार डेस्कको शुभारम्भ गरेको हो। बिदामा घर फर्किएका पनि घर आगनमै श्रम स्वीकृति पाउने भएपछि हर्षित भएका हुन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले श्रम स्वीकृतिको स्टिकर टासेर दुवै जनाको राहदानी हस्तान्तरण गर्दै वैदेशिक रोजगार डेस्कको शुभारम्भ गरेका थिए।

मन्त्री वोहराले यो सेवाबाट नेपाली कामदारलाई ठूलो फाइदा पुग्ने बताए। ‘यो सेवा पनि संघीयता कार्यान्वयको चरण हो’ मन्त्री सुवेदीले भने, ‘अब प्रदेशबाटै सबै सेवा प्रदान गरेर केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य गराउँने छौं।’ श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णान्द जोशीले श्रम स्वीकृति प्रदेश स्तरवाट नै दिने व्यवस्था गरिएबाट वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउनमा समेत टेवा पुग्ने बताए। ‘अहिले बिदामा आएकाहरूलाई श्रम स्वीकृति प्रदान गरिरहेका छौं। हामी पूर्ण श्रम स्वीकृतिको लागि पहल गर्दैछौं’ जोशीले भने।

बिदामा आएका कामदारहरूले धनगढीबाट श्रम स्वीकृति लिए पनि पहिलो पटक वैदेशिक रोजगारीमा जानेले भने राजधानीमा रहेको वैदेशिक रोजगार कार्यालयवाट श्रम स्वीकृति लिनु पर्ने ब्यवस्था रहेको छ। यस्तै मेन पावरमार्फत् जानेहरूको हकमा पनि सोही कार्यालयवाट स्वीकृति लिनुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.