१९ हजारलाई सहुलियत कर्जा
१९ हजारलाई सहुलियत कर्जा
काठमाडौं : आर्थिक वर्ष २०७५/७६ सम्ममा भूकम्पपीडित आवास कर्जा, कृषि तथा पशुपक्षी व्यवसाय कर्जा र अन्य कर्जा गरी करिब १९ हजार सर्वसाधारणले सहुलियत दरको कर्जा उपयोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार उत्पादनशील क्षेत्रतफ कर्जा प्रवाह तथा निर्यात विस्तार गर्न सहुलियत दरमा प्रदान गरिने पुन: कर्जाको उपयोग पनि बढेको जनाएको छ।
२०७६ असार मसान्तसम्ममा २ अर्ब ४१ करोड पुन: कर्जा लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ। यसअन्तर्गत साधारण पुन: कर्जा १९ अर्ब ३१
करोड र निर्यात पुन: कर्जा ८६ करोड ६१ लाख उपयोग भएको राष्ट्र बैंकले जानएको छ।
भूकम्प पीडितहरूलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुन: कर्जाको बक्यौता २०७६ असार मसान्तमा दुई अर्ब २१ करोड रहेको र यस्तो कर्जा १५७८ जना ऋणीले उपयोग गरेको जनाएको छ।
'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५' अनुसार प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १७ हजार २०३ जना ऋणीको ३२ अर्ब १९ करोड कर्जा बक्यौता रहेको बैंकले जनाएको छ।
त्यसैगरी, सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ एक हजार ९२ ऋणीलाई ६३ करोड २० लाख कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि हालसम्म एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।