देशमा हिंसाविरुद्धको अभियान जारी छ। सरकारदेखि महिलाका मुद्दा बोकेर हिँड्ने सबैजसो संघ, सस्था र व्यक्तिसम्मले विभिन्न कार्यक्रम गरेर आ–आफ्नो स्थानबाट अभियानलाई साथ दिएका छन्।
विकट गाउँ र परिवेशको राजनीति हुँदै सभामुख जस्तो गरिमामय पद सम्हालिसकेकी ओनसरी घर्तीलाई महिला हिंसाविरुद्धको १६ दिने अभियानले समाजमा सकारात्मक सन्देश दिने विश्वास छ। महिला सशक्तीकरणको विभिन्न पक्षबारे थाहाकर्मी ईश्वरी बरालले पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य घर्तीसँग गरेको कुराकानीको सम्पादित अंश:
सभामुख,राष्ट्रपतिलगायत अन्य उच्च ओहोदाको नेतृत्वमा महिला पुगेको अवस्था छ। यस्ता पदमा महिला पुग्दा समग्र महिलालाई के फरक पर्छ?
आमूल परिवर्तन गर्न समय लाग्छ। किनभने यो प्रक्रियागत रूपमा प्राप्त हुँदै जाने उपलब्धि हो। हिजोको दिनमा कुनै घरमा छोरी जन्मँदा घरको कामकाज गर्ने नयाँ मान्छे थपिएको रूपमा हेरिन्थ्यो। महिलामा त्योबाहेक अन्य क्षमता छैन भन्ने छाप थियो। तर, आज परिस्थिति बदलिएको छ।
एउटा घरमा छोरी हुर्किंदै गर्दा उनी राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश वा कुनै उच्च पदको बागडोर सम्हाल्ने व्यक्ति पनि बन्न सक्छिन् भनेर हेरिन्छ विस्तारै समय बदलिँदै छ। यो भनेको राजनीतिक, मनोवैज्ञानिक र सांस्कृतिक परिर्वतन हो।
महिलाका मुद्दा राजनीतिक अभियान र पार्टीका लागि जिम्मेवार मानिन्छन्। महिला सहभागिता र प्रतिनिधि बाध्यकारी अवस्थामा मात्रै हुँदै आएका हुन्?
कतिपय अवस्थामा कानुनमा हामीले बाध्यकारी अवस्था नै राख्नुपर्छ। किनभने समाजको मानसिकता यस्तो छ कि बाध्यकारी नभएसम्म त्यो कार्यान्वय हुँदैन। सामाजिक, सांस्कृतिक रूपान्तरण नहुँदासम्मका लागि बाध्यकारी व्यवस्था आवश्यक छ। कानुन कार्यान्वयनमा जिम्मेवार बनाउनका लागि यो व्यवस्था गरिएको हो। तर यसले महिलाहरुलाई कहिलेकाँही नकारात्मक असर गर्न पनि सक्छ। महिला आफैँ सचेत,सक्षम भएर आएको खण्डमा त्यो सवैभन्दा बढी दिगो हुनेछ। नयाँ पुस्ताका महिला आफैँ प्रतिस्पर्धा गरेर आउने मानसिकताबाट हुर्किनुपर्छ।
महिला सशक्तीकरणको नाममा औपचारिक कार्यक्रम बढी, चर्का कुरा र कमजोर काम भएका हुन्?
ठूलो अभियानबाट हामीले संविधान प्राप्त गर्यौँ। संविधानपछि हिजोको आन्दोलनको स्तरलाई हेर्दा केही मन्द भयो कि भन्ने हामी देख्न सक्छौं। तर, नयाँ पुस्ताका छोरीहरूमा जागरूकता कम छैन। उनीहरू विकास र आत्मनिर्भर बन्न सचेत र जागरूक छन्। महिला आन्दोलनको अभियान र कार्यक्रममा सुस्तता आएको जस्तो देखिए पनि महिलाको सर्वांगिण विकासका लागि समाजले गति समातिसकेको छ।
महिला सशक्तीकरणका लागि महिला आफैं कति जिम्मेवार बन्नुपर्छ र यसमा पुरुषको भूमिका आवश्यक छ कि छैन?
व्यक्तित्व र क्षमता विकासका लागि महिला आफैँ जिम्मेवार बन्नुपर्छ। त्यसमा पुरुषको साथको खाँचो रहन्छ। पुरुषको व्यक्तित्व विकासका लागि महिलाको भूमिका महत्वपूर्ण मानिएजस्तै पुरुषको सहयोग पनि महिलाको विकासको लागि आवश्यक छ। तर, त्यो कुरा सहायक हो।
महिला आफैँले आफ्नो क्षमता विकासका लागि प्रयास गर्नुपर्छ। किनभने जो पछाडि परेको छ ऊ सक्रिय हुनुपर्छ उसले पहल कदमी लिनुपर्छ। अरूले उसलाई प्रोत्साहन दिने हो। महिलाले स्वयं श्रम गरेर विकास गरेको क्षमताले दिगोपना ल्याउँछ। आत्मैदेखि लागेर अगाडि बढ्ने कुरा पहिलो हो। पहिलो कुरालाई प्राथमिकता दिनु आवश्यक छ।
मुलुकमा जारी महिलाहिंसाविरुद्धको १६ दिने अभियानको प्रभावकारिता कस्तो रहला?
अभियानले अवश्य पनि धेरथोर प्रभाव राख्छ। यस्ता अभियानले समाजलाई सकारात्मक सन्देश दिने या यसले केही न केही समाजलाई रूपान्तरण गर्न सहयोग गर्ने अवस्था आउँछ। अभियान गरिहाल्दैमा देशभरका सबै महिला एकैपटक जागरूक भइहाल्छन् भन्ने हैन तर केही न केही सकारात्मक सन्देश दिन्छ।
धेरै नै पछि परिरहेका समुदायका महिला अघि बढ्न अभियानले सहयोग गर्छ। राज्य, राजनीतिक दल, सरोकारवाला, समुदाय हुँदै व्यक्तिसम्मैले यसलाई प्राथमिकतामा राख्नुपर्छ। संविधान लेखिसकेका छौँ अब समाजको मानसिकता परिवर्तन गर्न मात्रै आवश्यक छ। हामी समाजको मानसिकता परिर्वतन गर्न पनि सक्छौँ। यसमा राज्यसँग मिलेर सबैले हातेमालो गर्नु जरुरी छ।
महिलाका सवालमा कानुन फितलो कि कार्यान्वयन पक्ष कमजोर?
पुरानो मानसिकता चिरेर समाज अघि बढाउनु सजिलो विषय होइन। तर, राज्यले बनाएको कानुन कार्यान्वयन गर्नुपर्छ। जनसमुदाय नै सचेत भएर आफ्नै हकका लागि बनेका कानुन कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण छ।
राज्यका उच्च ओहोदामा बसेका व्यक्ति नै महिला हिंसा र बलात्कारको घटनामा मुछिएका छन्। यो के को संकेत हो? यसले समाजलाई कता जाँदैछ?
कुन तह र तप्काको व्यक्तिले हिंसा गरेको छ भन्नुभन्दा पनि यो एउटा गलत प्रवृत्ति हो। समाजमा विद्यमान प्रवृत्तिविरुद्ध हामी लडिरहेका छौं। पुरुष मानसिकता, पुरुष प्रवृत्ति महिलामा हुन पनि सक्छ, पुरुषमा हुन पनि सक्छ।
उच्च पदमा आसिन वा सामान्य मानिसमा पनि यो हुन सक्छ। हामी यी सबैविरुद्ध आन्दोलनमा छौँ। जो व्यक्ति उच्च ओहोदामा छ उस्ले कानुनप्रति बढी सजग हुनुपर्छ। कानुनले कसैलाई छोड्दैन। विधि विधानको देशमा दोषी उम्किन पाउँदैन। यस्तो विषयलाई कानुनले न्याय गर्छ, छुट दिँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।