मनाङ : सहरी क्षेत्रमा प्रविधिको प्रयोगबाट बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने कार्य भएको छ। यस कार्यलाई धेरै विद्यालय, कलेज, क्याम्पसले अँगालेका छन्। तर दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट वञ्चित छन्। मंसिर मसान्तदेखि मनाङका विद्यालय बन्द भएका छन्।
मंसिरमा अन्तिम परीक्षा सकेर समय भएर पनि नयाँ शैक्षिक सत्र सुरु हुने मनाङमा कोरोना सन्त्रासपछिको लकडाउनले अवरोध पुर्याएको हो।संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब ६ महिनादेखि बालबालिका विद्यालयबाहिर छन्।
सहज रुपमा इन्टरनेट पहुँच पुगेका सबैजसो ठाउँका विद्यालयले प्रविधिको उपयोग गरी पठनपाठन थालेका छन्। तर मनाङमा भने त्यसो हुन सकेको छैन। एक त यहाँ इन्टरनेटको पहुँच राम्रो छैन।
हावाहुरीका कारण इन्टरनेट समेत राम्रोसँग नचल्ने हुँदा अनलाइन अध्ययनमा प्रभाव परेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। यसको असर अझ बढी दुर्गम क्षेत्रमा बढी परेको छ। साना बालबालिकाले विद्यालय नै बिर्सिने अवस्था आइसकेको छ।
साना बालबालिकाका अभिभावकहरु भन्छन्, ‘छोराछोरीहरु विद्यालय जाम भन्छन्, कसरी लैजानू?’ जिल्लाको माथिल्लो भेगका बालबालिका झण्डै ६ महिना देखि विद्यालयको पहुँचभन्दा टाढा भएका छन्।
दुर्गम ठाउँकालाई सरकारले चासो नदिएको अभिभावकहरुले बताएका छन्। जिल्लाभर २८ वटा विद्यालय छन्। जिल्लामा करिव ६ सयभन्दा बढी बालबालिका विद्यालय जाने गरेका थिए।
जम्मा चार वटा गाउँपालिकामा रहेको यस जिल्लामा माथिल्लो भेगमा ११ वटा विद्यालय छन्। चामे गाउँपालिकामा पाँच, नार्पाभूमि गाउँपालिकामा दुई र नासों गाउँपालिकामा ११ वटा विद्यालय छन्।
हाल चामे गाउँपालिकाले भने ५ वटा विद्यालयलाई आवासीय विद्यालयमा रुपान्तरण गरी पालिकामा दुई विद्यालय मर्ज गरी सञ्चालन गरिएको छ। त्यस्तै नासों गाउँपालिकाले पनि प्रकाश ज्योति माविलाई आवासीय विद्यालय बनाइएको र पालिकामा दुई मावि छन्।
सबै विद्यालयमा कखरा पढ्दै रमाइरहने बालबालिका विद्यालय बाहिर रहँदा बालबालिकाको शैक्षिक स्तर खस्कने देखिएको छ। सुगम क्षेत्रमा र इमेल इन्टरनेट पहुँचमा रहेका बालबालिका त इन्टरनेट माध्यमबाट केही भए पनि अध्ययन गरिरहेका छन्। तर मनाङका विद्यार्थीको शिक्षाको अवस्था चिन्ताको विषय बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।