|

२१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म तय भएको फिफा विश्वकपको तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकपका लागि विश्वभरिका समर्थक व्यग्र प्रतीक्षामा रहेका छन्। कतारमा विश्वकप आयोजनाको निर्णयसँगै विवाद शुरु गरिएको थियो। तर पनि कतारले आफ्नो देशमा तय भएको विश्वकपको तयारीका लागि कुनै कसर बाँकी राखेको छैन। तयारी अघि बढ्दै जाँदा गल्फ कन्ट्रीमा हुने पहिलो विश्वकपका लागि यस्ता छन् नियम।

यस्तो छ कोरोनासम्बन्धी नियम

सबै समर्थकले कतार जानुअघि ‘एटराज’ नामक ट्रयाक एन्ड ट्रेस एप डाउनलोड गर्नु पर्नेछ। उनीहरूले ४८ घन्टाअघि कोरोना नेगेटिभ पिसिआर टेस्ट देखाउनु पर्नेछ। साथै पूर्ण भ्याक्सिनेटेड हुनु पर्नेछ।

के समर्थकले अल्कोहल लिन पाउँछन्?

कतारमा हुने विश्वकपका लागि पूर्ण रुपमा अल्कोहल निषेध गरिएको छैन। तर सीमितको मात्र अल्कोहलमा पँहुच हुनेछ। लाइसेन्स प्राप्त रेस्टुँरामा मात्र अल्कोहल लिन सकिन्छ। अल्कोहलका लागि कानुनी रुपमा २१ वर्ष पूरा भएको हुनु पर्छ। कानुन उल्लंघन गरेमा ८१५ अमेरिकी डलर जरिवाना या ६ महिना जेल सजाय तोकिएको छ।

कतारले विश्वकपसँगै आफ्नो खाना तथा कल्चरलाई पनि विश्वसामु पुर्‍याउने प्रयास गर्नेछ। साथै उसले दोहाको आर्किटेक्चरको अविश्वसनीय स्थानमा भ्रमणलाई मुख्य गन्तव्यको रुपमा लिएको छ। कैयौं लग्जरी रिसोर्ट पनि हेर्न लायक गन्तव्यमा सूचीकृत गरेको छ।

ड्रेस कोडको व्यवस्था

अनिवार्य नगरे पनि कतारले सार्वजानिक स्थलमा पूरै शरीर ढाक्ने लुगा लगाउन भनेको छ। सार्वजनिक स्थलमा पुरुषलाई पनि ‘सर्ट’ पहिरन बन्देज गरिएको छ। साथै कतारमा समलिंगी प्रवेश अवैध मानिएको छ। केही समयअघि मात्रै फिफाको अफिसियल सूचीमा सूचीकृत भएका ६९ होटलमध्ये ३ होटलले समलिङ्गी जोडीले गरेको बुकिङ खारेज गरेका थिए।

के-के लान मिल्छ?

कतार इस्लामिक देश भएकाले नियम निकै कडा रहेका छन्। अल्कोहल बोकेर जान पाइने छैन भने ड्रग्स, पोर्नोग्राफी, गैरइस्लामिक धार्मिक पुस्तकसमेत लान प्रतिबन्ध गरिएको छ। साथै ई-सिगरेट पनि प्रतिबन्ध गरिएको छ।

दर्शक कहाँ रहन्छन्?

दर्शकहरूले अफिसियल कतार २०२२ पोर्टलअनुसार होटल बुक गर्न सक्नेछन्। तर यसका लागि म्याच टिकट एप्लिकेशन नम्बरको प्रुफ देखाउनु अनिवार्य छ।

प्रतियोगिता विवादित किन?

कतारले आयोजनाको जिम्मेवारीका लागि फिफालाई अर्बौं अमेरिकी डलर घुस खुवाएको आरोप छ। साथै निर्माण कार्यका दौरान ६ हजार ५०० भन्दा बढी कामदारले ज्यान गुमाएका रिपोर्टहरू सार्वजनिक भए भने हजारौं कामदारको श्रमशोषण गरेको आरोप पनि कतारमाथि पश्चिमाहरूले लगाउने गरेका छन्। मानवअधिकार हनन गरेको आरोप पनि कतारमाथि लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.