|

दैलेख : दैलेखको नारायण नगरपालिकाले आफ्नै आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको छ। यहाँका ११ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिने नारायण नगरपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि १ सय २८ घण्टे ‘पाठ्यक्रम’ निर्माण गरेको हो। 

मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले आफ्नै ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार नारायण नगरपालिकाले आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको नगरप्रमुख लोमन शर्माले बताए।

विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक जीवराज तिमिल्सेनाले बताए। आधारभूत पाठ्यक्रममा नगरपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने तिमिल्सेनाले बताए।

आधारभूत ‘पाठ्यक्रम’मा स्थानीय वेषभूषा, कला संस्कृति, धार्मिक महत्त्व र इतिहासका विषयसँगै स्वास्थ्य, लैगिक हिंसा, जातीय विभेद लगायतका विषय समावेश गरिएको र विज्ञहरूसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गरिएको संयोजक तिमिल्सेनाले बताए।

नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले स्थानीय पाठ्यक्रम निर्माण गर्नु आफैँमा चुनौती भए पनि नारायण नगरपालिकाले आफ्नै आधारभूत पाठ्यक्रम निर्माण गर्न सफल भएको बताए।

गुराँस गाउँपालिकाले विगत ४ वर्षदेखि कक्षा १ देखि ५ सम्म आफ्नै ‘पाठ्यक्रम’ निर्माण गरी कार्यान्वयनमा ल्याएको शिक्षा शाखा प्रमुख भूपेन्द्र भण्डारीले बताए। उनले यसै आर्थिक वर्षमा ८ कक्षा सम्मको ‘पाठ्यक्रम’ निर्माण गरी कार्यान्वयन चरणमा जाने बताए।

नौमूले गाउँपालिकाले गत आर्थिक वर्षमा १ देखि ३ सम्मको ‘पाठ्यक्रम’ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए। उनले ‘पाठ्यांश निर्माण गरी विद्यालय स्तरमा कार्यान्वयन गराइने बताए।

भगवतीमाई गाउँपालिकाले स्थानीय ‘पाठ्यक्रम’ कार्यपालिकाबाट स्वीकृत गराइसकेको र आगामी शैक्षिक सत्रबाट पाठ्यांश निर्माण गरी कार्यान्वयनमा लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले बताए।

डुंगेश्वर गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको हाम्रो डुंगेश्वर नामक ‘पाठ्यक्रम’ गत आर्थिक वर्षमा निर्माण गरेको र यो आर्थिक वर्षमा कक्षा ५ सम्मको ‘पाठ्यक्रम’ निर्माण गरी कार्यान्वयनमा लैजाने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डि.सीले बताए।

दुल्लु नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘पाठ्यक्रम’ निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले बताए। उनले आगामी शैक्षिक सत्रदेखि विद्यालयस्तरमा ‘पाठ्यक्रम’ लागू गरिने बताए।

चामुण्डा विन्द्रासैनी नगरपालिकाले यसअघि कक्षा १, ६ र २, ७ को ‘पाठ्यक्रम’ बनाई कार्यान्वयनमा ल्याएको शिक्षा शाखा प्रमुख दिलीपकुमार सोनीले बताए। 

अलमलमा अन्य स्थानीय तह
स्थानीय सरकार गठनपछि आफ्नो स्थानीय तहभित्रका सबै विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने भए पनि दैलेखका केही स्थानीय तह स्थानीय पाठ्यक्रम निर्माण नगरी अलमलमा देखिएका छन्।

भैरवी गाउँपालिकाका जनप्रतिनिधिले स्थानीय ‘पाठ्यक्रम’ निर्माणका लागि भर्खरै कार्यदल बनाएको जनाइएको छ।

महाबु गाउँपालिकाले हालसम्म स्थानीय ‘पाठ्यक्रम’ निर्माण नगरेको जनाएको छ। ‘हामी ‘पाठ्यक्रम’ निर्माणको तयारीमा छौँ। यसै आर्थिक वर्ष बजेट विनियोजन गरेर कक्षा १ देखि ३ सम्म ‘पाठ्यक्रम’ निर्माण गर्छौं’, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले भने।

विकासका नाउँमा डोजर आतङ्क मचाएका स्थानीय सरकारका जनप्रतिनिधिले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकास लगायतका विषमा चासो नदिएको नागरिकको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.