|

काठमाडौं : गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। 

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी मिलाएर ८ दलीय गठबन्धन बिउँताएसँगै सत्ता समीकरण नै बदलिएको छ।

पुस १० गते बनेको गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका छन्। राजसंस्थाको एजेण्डा बोकेको दल नयाँ गठबन्धन बनेको भोलिपल्टै राजनीतिक निर्णय गरेर सरकारबाट बाहिरिसकेको छ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा मिसिएका छन् तर दल खुलेको सात महिनामै अप्रत्याशित मत पाएको रास्वपा राजनीतिक निर्णयमा आनाकानी गरिरहेको छ। 

रास्वपा न ८ दलीय गठबन्धनमा सहभागी छ न त पुरानो गठबन्धनमा नै। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। रास्वपाले किन परिपक्क निर्णय गर्न सकेन? भनेर प्रश्न उठिरहेका छन्। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलहरूसँग संवाद गरिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए। उनले जनतासँग गरेका वाचा पूरा गर्न सरकारसँग सहकार्य आवश्यक भएकाले छलफल भइरहेको बताए। 

‘हामीले निर्वाचनका वेला जनतासँग गरेका वाचा पूरा गर्न सरकारसँग सहकार्य गर्नुपर्छ। परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं। सत्तारुढ दलहरूसँग संवाद भइरहेको छ’‚ परियारले भने। 

‘यसको अर्थ तपाईंहरू परिस्थितिलाई मूल्यांकन गरेर सरकारमा सहभागी पनि हुन सक्नुहुन्छ?’‚ भन्ने प्रश्नमा उनले भने, ‘परिस्थिति मिले आठदलीय गठबन्धनमा सहभागी हुन सकिन्छ तर यसबारे पार्टीले औपचारिक निर्णय गर्नेछ।’

रास्वपा महामन्त्री डा. मुकुल ढकाल सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिनु आफूहरूका लागि बाध्यता नभएको बताउँछन्। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री कायम रहेकाले परिस्थिति फरक नभएको दाबी गरे। 

‘हाम्रा लागि परिस्थिति बदलिसकेको छैन। साझा न्यूनतम कार्यक्रम छन्। त्यो पूरा गर्न प्रधानमन्त्रीज्यू कति प्रतिबद्ध हुनुहुन्छ। उहाँले नै ल्याएको न्यूनतम साझा कार्यक्रममा हाम्रा पनि एजेण्डा समावेश छन्’‚ महामन्त्री ढकालले भने, ‘सरकारमा जानै नहुने भन्ने होइन तर पार्टीभित्र छलफल गरेर टुंगो लगाउँछौं। अहिले हामी संगठन निर्माण र चितवन–२ को उपनिर्वाचनमा केन्द्रित छौँ।’

रास्वपा स्रोतका अनुसार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आठ दलीय गठबन्धनमा मिसिन प्रस्ताव गरिरहेका छन्। 

‘उहाँहरूले नयाँ समीकरणमा मिसिन प्रस्ताव गरिरहनु भएको छ। ९ दल मिलेर राजनीतिक स्थायित्व दिऔं भनेर प्रस्ताव आएको छ। हामीले दलभित्र बसेर छलफल गर्छौं भन्ने जवाफ दिएका छौं’‚ रास्वपाका एक सांसदले थाहाखबरसँग भने।

रास्वपालाई सरकारमा ल्याउन कसरत 

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन कसरत शुरु गरेका छन्। प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपालाई पुनः सरकारमा सहभागी गराउन उनले इच्छा प्रकट गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग संवादसमेत गरिसकेका छन्। एमालेसँग निकट रहेको रास्वपालाई एमालेबाट अलग्याउनु प्रचण्डको रणनीति देखिन्छ। यसमा रास्वपा पनि सकारात्मक देखिन्छ। महामन्त्री ढकालले सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेको बताए। 

‘सभापतिज्यू निरन्तर प्रधानमन्त्रीसँग संवादमा हुनुहुन्छ। परिस्थितिलाई मूल्यांकन गर्दै सरकारमा जान सकिन्छ’‚ ढकालले भने।  

लामिछानेले गत माघ १३ गते सर्वोच्च अदालतबाट नागरिकता खारेज भएपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेले पुनः नागरिकता प्राप्त गरेपछि गृहमन्त्रीमा दाबी गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले गृह नदिने अडान लिएपछि लामिछानेले गत माघ २२ गते आफ्ना दुई मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए तर सरकारबाट बाहिरिएको एक महिना नपुग्दै रास्वपा सरकारमा जान सकारात्मक देखिएको छ। लामिछानेलाई सरकारमा ल्याएर प्रधानमन्त्रीले सरकारलाई ‘सेफ जोन’मा लैजान खोजेको प्रचण्ड निकट एक नेताले बताए।

‘रास्वपालाई सरकारमा लिएर जाँदा बाहिर सकारात्मक सन्देश जाने भयो। साथै सरकार सञ्चालनमा पनि सहज पर्छ। नत्र हामीलाई कांग्रेसको एकोहोरो पेलान पर्नसक्छ’‚ ती नेताले भने। 

राष्ट्रपतिमा ‘स्वतन्त्र’ 

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई आठ दलको समर्थन छ भने नेम्वाङलाई एमाले र राप्रपाले मात्रै समर्थन गरेका छन्। एमाले निकट मानिएको रास्वपा भने ‘पर्ख र हेर’को नीतिमा छ। 

‘राष्ट्रपतिको निर्वाचनमा पार्टीले ह्वीप लगाउने कि नलगाउने भन्नेबारे हामीले निर्णय लिन बाँकी छ। संविधानमा गोप्य मतदानको व्यवस्था भएकाले हामीले भनेका दललाई उनीहरूले भोट हाले कि हालेनन् जानकारी हुँदैन। त्यही भएर हामी कानुनविद्हरुसँग छलफल गरिरहेका छौं’‚ महामन्त्री ढकालले भने। 

सचेतक परियारले सांसदहरूलाई ह्वीप लगाउने तयारी नभएको जानकारी दिए। उनले एमाले र नेपाली कांग्रेसलगायतका दलहरूसँग छलफल भइरहेकाले बैठक बसेर आवश्यक निर्णय लिने बताए। 

‘हामीले सांसदहरूलाई कुनै ह्वीप लगाएका छैनौं। परिस्थिति अध्ययन गरिरहेका छौं। दुवै पक्षसँग संवाद भइरहेकाले केही दिनभित्रै एउटा निष्कर्षमा पुग्छौं’‚ उनले भने। 

रास्वपाले राष्ट्रपति निर्वाचनमा कानूनमा गोप्य मतदानको व्यवस्था भएकाले आफ्ना सांसदहरूलाई स्वतन्त्र छोड्ने नीति लिएको छ। रास्वपाले नयाँ गठबन्धनको नेतृत्वमा सरकार गठन हुने भएकाले राष्ट्रपतिको निर्वाचनलाई मात्रै केन्द्रमा नराख्ने नीति लिएको हो। महामन्त्री ढकालले राष्ट्रपतिको निर्वाचनमा आफूहरूले फरक नजिर स्थापित गर्न खोजेको बताए। 

‘राष्ट्रपति चुनावपछि पनि त्यस्ता धेरै क्षण आउँछन् जहाँ हामीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ। राष्ट्रपति चुनावमा चाहिँ हामीले संविधानको भावना र मर्म अनुसार एउटा फरक नजिर बनाउन चाहिरहेका छौँ’‚ उनले भने।

२० सिट जितेको रास्वपा प्रतिनिधिसभामा चौथो शक्तिको रूपमा रहेको छ। राष्ट्रपति निर्वाचनमा रास्वपासँग १५०१ मतभार रहेको छ।

चितवन २ बाट निर्वाचित पार्टी सभापति लामिछाने नागरिकता मुद्दामा परेपछि एक सिट रिक्त छ। रास्वपासँग हाल १९ जना सांसद् छन्। चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ। रास्वपाले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.