|

दाङ : नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।

उनीहरूले अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।

रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।

उनले भने, ‘पछिल्लो समय युवा पिँढी कुलतमा फसिरहेको अवस्था छ। खेलले युवालाई कुलततर्फ जानबाट रोक्छन् तर राज्यले यता कुनै ध्यान दिएको छैन। देशमा पहाडी क्षेत्रमा पहिलो पटक दाङमा यो खेल भएको छ। यस्ता खेलहरू सबै ठाउँमा हुन जरुरी छ। यसतर्फ प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनु पर्छ।’

उनले राज्यले अन्य खेलहरूलाई व्यावसायिक रुपमा अगाडि बढाएको भए पनि कुस्तीलाई चासो नदिएकाले नेपालमा यो खेल नौलो हुने गरेको पनि बताए।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट ३ जना कुस्तीमा सहभागी भए पनि अन्य प्रदेशका खेलाडीहरूलाई त्यहाँको सरकारले राम्रो सुविधा उपलब्ध दिएको तर आफूहरूलाई स्थानीय तह‚ प्रदेश र केन्द्र कसैले पनि चासो नदिएको उनको भनाइ छ।

उनले भने, ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीमा मैले गोल्ड मेडल जितेको थिएँ। अहिलेसम्म मलाई प्रदेश वा स्थानीय सरकारबाट कुनै हौसला बढाउने काम भएको छैन। हाम्रो प्रदेशमा जम्माजम्मी ५/६ जना कुस्तीका खेलाडीहरू होलान् तर तीमध्ये हामी ३ जनाले मात्र भाग लिएका थियौँ। हामीले गोल्ड, सिल्भर र ब्रोन्ज गरेर ३ वटा मेडल प्राप्त गरेका थियौँ।’

उनका अनुसार अन्य खेलमा जस्तै कुस्तीमा पनि जोखिम धेरै हुने गर्छ। सोचविचार नगरेर नखेल्ने  हो भने मानिसको ज्यान जानसक्ने पनि उनको भनाइ छ। उनले नेपालमा कुस्ती प्रतियोगिताहरू न्यून संख्यामा हुने भएकाले आफूहरू भारतमा खेल्न जाने गरेको पनि बताए। उनले भारतमा आफूले कुस्ती खेल्दा गोल्ड मेडल जितेको पनि उनले बताए।

बल, बुद्धि भएपछि मात्र यो खेल जित्न सकिने पनि उनले बताए। शुरुमा आफूले  भारतको हरियाणामा सिकेर खेल्न थालेको र नेपालमा २०६९ सालदेखि खेल्दै आएको पनि बताए।

उनले भने, ‘भारतमा सिकेर अब आफ्नो देशबाट खेल्नुपर्छ भनेर आएको थिएँ तर अहिलेसम्म राज्यले कुनै पनि साथ सहयोग गरेको छैन। म भारतमै भएको भए त्यहाँ धेरै अवसर पाउँथें तर यहाँ अवसरभन्दा पनि कहाँ खेल हुन्छ भनेर बस्नु पर्छ।’

अहिलेसम्म आफूले कुस्तीमा गोल्ड मेडल जित्दै आएको पनि बताए। उनका अनुसार विभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी हुनसमेत आफैँ खर्च गरेर जानुपर्छ।

उनले भने, ‘मेरो यो खेलबाहेक अरु कुनै पेशा छैन। घरमै खेती किसानी गरेर बस्ने गर्छु। दाङको तुलसीपुरमा खेल भएको मलाई थाहा थिएन। सामाजिक सञ्जाल फेसबुकमा प्रतियोगिता भएको थाहा पाएपछि खेल्न आएको हुँ! मजस्ता कुस्तीका अरु खेलाडीहरू अहिले कोही अटोरिक्सा चलाएर बसेका छन् भने कोही दैनिक ज्याला मजदुरी गर्न बाध्य भएका छन्।’

तुलसीपुरमा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता

युथ अफ तुलसीपुरको आयोजनामा दाङमा पहिलो पटक अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता भइरहेको छ। फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतीय गरि ३९ जना खेलाडीको सहभागिता रहेको युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए। 

उनका अनुसार  ३० जना भारतीय पुरुष खेलाडी, ४ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्। कुस्तीलाई नेपालमा स्थापित गर्न प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ।

उनका अनुसार कुस्तीलाई पनि फुटबल, क्रिकेट जस्तै अगाडि बढाउन सकिन्छ कि भन्ने नै हो। तराईमा यो खेल बढी खेलिने गरिएको भए पनि अन्य ठाउँमा खासै नहुने भएकाले पनि यहाँ अन्तरराष्ट्रिय प्रतियोगिता भनेर सञ्चालन गरिएको हो।

आफूले पहिलो पटक आयोजना गर्दा खेलप्रति आकर्षण बढेको भन्दै अब अर्को वर्ष पनि खेल आयोजना गर्ने उनले बताए। उनले भने, ‘दाङमा पहिलो पटक आयोजना गरिएको हो। यसको सबै व्यवस्थापन हामीले नै गरेका छौँ। कसैसँग सहयोग मागेका पनि छैनौँ। एक हप्तासम्म गरिएको प्रतियोगितामा दर्शकहरूको उपस्थितिले हामीलाई हौसला बढाएको छ। खेल हेर्न टिकट दर १ सय रहेको छ। अब अर्को वर्ष आयोजना गर्दा हामी निःशुल्क हेर्ने व्यवस्था गर्ने छौँ।’

उनका अनुसार खेलाडीहरूलाई दैनिक १५ सयदेखि २ हजार भारतीय रूपैयाँ र खाने बस्ने व्यवस्था पनि गरिएको छ।

कुस्तीले युवालाई कुलतमा फस्न दिँदैन : अन्तरराष्ट्रिय कुस्ती प्रशिक्षक तिवारी

पछिल्लो समय युवा पुस्ता कुलतमा फसेको भन्दै त्यसलाई कुस्तीले रोक्न सक्ने भारतको उत्तरप्रदेशका अन्तरराष्ट्रिय कुस्ती प्रशिक्षक चन्द्रराम तिवारीको भनाइ छ।उनले नशा भगाउने र युवाहरूलाई यस खेलमा बढाउन दाङको तुलसीपुरमा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गरेको बताए।

उनले यहाँ भइरहेको खेलले खेलाडी तथा दर्शक उत्साहित भएको भन्दै अब कुस्तीको विकास हुने अपेक्षा व्यक्त गरे। उनले भारतमा पनि आफूहरूले नशा भगाउने र युवाहरूलाई यस खेलमा बढाउने उद्देश्यले यो खेल खेलाउने गरेको बताए।  

पहिलो पटक दाङमा कुस्ती हेर्न पाउँदा स्थानीय दंग

​तुलसीपुर उपमहानगरपालिका-५ का धनीराम बिकले करिब १० वर्ष पहिले भारतको पञ्जाबमा कुस्ती खेलेको देखेका थिए। अहिले आफ्नै ठाउँमा भारतीय र नेपालीहरू कुस्ती खेलेको देख्दा धेरै खुशी लागेको उनले बताए।

उनले भने, ‘हाम्रो देशमा फुटबल, भलिबल  पुराना खेलहरू हुन् जस्तो मलाई लाग्छ तर पछिल्लो समय क्रिकेट खेलप्रति पनि निकै चासो बढेको देखिन्छ। त्यसैले राज्यले कुस्तीलाई पनि अगाडि बढाउनु पर्छ।’

शुरुमा भारतमा यो खेल खेलेको देख्दा खेलाडीहरू आपसमा लडेको जस्तो देखिने गरे पनि कुस्ती खेलेको भन्ने थाहा नपाएको उनले बताए। पछि कुस्ती खेल भन्ने थाहा पाएको र करिब १० वर्षपछि आफ्नै ठाउँमा  हेर्न पाउँदा धेरै खुशी लागेको उनले बताए। 

प्रदेशले कुस्तीमा पदक जितेकालाई चाँडै सम्मान गर्छ : भट्टराई

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालमा कुस्तीका लागि लुम्बिनी प्रदेश त्यसमा पनि कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी विशेष चिनिएको बताए।

उनले  यी ३ जिल्लाहरू कुस्तीको लागि महत्वपूर्ण रहेको भन्दै  प्रदेश सरकारले कुस्तीको लागि संरचना बनाउन ६० लाख बजेट छुट्टाएको पनि बताए। प्रदेशको जुनसुकै जिल्लामा यसको संरचना निर्माण हुने र त्यसको तयारी भइरहेको समेत उनको भनाइ थियो।

कुस्ती खेल राष्ट्रिय र अन्तरराष्ट्रिय जगतमा स्थापित भएको भन्दै लुम्बिनी प्रदेशले कुस्तीमा मेडल प्राप्त गरेको पनि बताए। उनका अनुसार प्रदेश सरकारले  कुस्तीमा मेडलप्राप्त खेलाडीहरू र अन्य खेलाडीहरूलाई सम्मान गर्न लागेको र त्यसको तयारी भइरहेको छ। 

उनले दाङ जिल्ला खेलकुद क्षेत्रको उर्वरभूमि रहेको भन्दै खेललाई उचाइमा लैजानसमेत आग्रह गरे। उनले ऐतिहासिक र पुरानो भएकाले जगेर्ना गर्नुपर्ने भन्दै  यस्ता पुराना खेल जगेर्ना गर्न राज्यले ध्यान नदिएको अवस्थामा संस्थाले आयोजना गरेका कुस्ती एकदमै महत्वपूर्ण रहेको बताए।

उनले दाङ कुस्तीको लागि महत्वपूर्ण ठाउँ भएको भन्दै यो खेल आयोजनाले भोलि यहाँ खेलाडीहरू यस खेलमा आकर्षित हुनसक्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.