|

काठमाडौ: नेपालमा आर्थिक वर्ष २०७८÷७९ मा ४५३ जना आयातित औलोका बिरामी पुष्टि भएका छन् ।

औलो दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सेवा विभाग विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक कार्यक्रममा गएको एक वर्षमा नेपालमा १० हजारभन्दा बढीमा औलो ज्वरो पुष्टि भएको जानकारी दिएको छ। तीमध्ये ४५३ जना औलोका बिरामी विदेशबाट आएका थिए।

महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने‚ ‘आर्थिक वर्ष ०७८/७९ मा नेपालमा १० हजार १४० जनामा औलो संक्रमण पुष्टि भएको छ। जसमध्ये ४५३ जना औलोका बिरामी विदेशबाट आएका थिए।‘

डा.दाहालका अनुसार विदेशबाट आएकामध्ये ८५ प्रतिशत बिरामी छिमेकी भारतबाट आएका थिए। बाँकी १५ प्रतिशत अफ्रिकी देशबाट फर्किएकाहरू रहेको जानकारी उनले दिए।

औलोको बढ्दो जोखिम

महाशाखाका अनुसार सन् २०२२ को औलोको सुक्ष्म स्तरीकरणको आधारमा नेपालमा हाल ८ जिल्लाका ९ पालिकाका १४ वटा वडा उच्च जोखिममा रहेका छन्।

त्यसैगरी, मध्यम जोखिममा १० जिल्लाका २४ पालिकाका ३९ वटा वडा रहेका छन्। कम जोखिममा ६७ जिल्लाका ४१४ पालिकाका २ हजार ३१८ वटा वडामा बसोबास गर्ने १ करोड १ लाख ४० हजार ४५० जनसंख्या औलोको जोखिममा रहेका छन्।

डा. दाहालका अनुसार औलो रोग संक्रमित एनोफेलिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ। 

नेपालमा मुख्यतया औलोका दुई किसिमका परजीविहरु प्लाज्मोडियम फल्सिपारम र प्लाज्मोडियम भाइभेक्स पाइने गरेको छ। यी दुईमध्ये प्लाज्मोडियम फल्सिपारमले गराउने औलो रोग जटिल र जोखिमयुक्त हुन्छ।

औलोका लक्षण

चिकित्सकका अनुसार थकाई लाग्नु, वाकवाकी लाग्नु, जिउ दुख्नु, बान्ता हुनु, ज्वरो आउनु ,अत्यधिक जाडो हुनु, टाउको दुख्नु‚ थकाई लाग्नु औलोका मुख्य लक्षण हुन्। 

औलोबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीका काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने सुझाव दिन्छन् चिकित्सकहरु।

गर्भवती र ५ वर्षमुनिका बालबालिकालाई बढी जोखिम

चिकित्सकका अनुसार औलोबाट विशेषगरी गर्भवती र ५ वर्षमुनिका बालबालिकालाई बढी जोखिम हुन्छ। लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोकथामको उत्तम उपाय हो।

सरकारले सन् २०२५ सम्म औलो शून्यमा झार्ने लक्ष्य राखेको छ। औलोलाई शून्यमा झार्न विभिन्न नवीनतम तथा प्रभावकारी कार्यक्रममा लगानी बढाउनुपर्नेमा सरोकारवाला जोड दिएका छन्। 

‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ नाराका साथ देशभरि कार्यक्रम गर्दै औलो दिवस मनाइँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.