स्तनपान गराउने महिलाको संख्या घटेपछि चिन्ता

|

काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएपछि सरकारले कामकाजी महिलालाई दिँदै आएको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ।

हाल महिलाले ९८ दिन सुत्केरी बिदा पाउँदै आएका छन्। स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो।

सोहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ।

उक्त ऐन संशोधन मस्यौदा करिब दुई साताअघि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।

उनका अनुसार पछिल्लो समयमा स्तनपान गराउने महिलाको संख्या घट्दै गएको अवस्थामा कामकाजी महिलालाई हाल दिँदै आएको ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउन लागिएको हो।

उनले भने‚ ‘सुत्केरी बिदा बढाउने विषयमा अनौपचारिक रूपमा कानुन मन्त्रालयसँग छलफल गरेपछि स्वास्थ्यले ऐन संशोधनका लागि मस्यौदा पठाइएको छ। अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसद्‌बाट पारित भएर संशोधित ऐन कार्यान्वयनमा जाला। यसपछि​ सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाले सुत्केरी बिदाबापत ६ महिना बिदा पाउनेछन्।'

मूलतः पछिल्लो समय स्तनपान गराउने महिलाको संख्या घट्दै गएपछि सुत्केरी बिदा बढाउने तयारी गरिएको समेत उनले बताए। सरकारले महिलालाई आवश्यक बिदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आँकलन गरिएको छ।

नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्म स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो। हालै सार्वजनिक भएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रारम्भिक रिपोर्टले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ।

विगतका ६ वटा सर्वेक्षण हेर्ने हो भने नेपालमा पूर्ण स्तनपान गराउने प्रतिशतमा घटबढ भइरहेको देखिन्छ। सन् १९९६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार पूर्ण स्तनपान गराउनेको प्रतिशत ७५ थियो। सन् २००१ मा आइपुग्दा सो घटेर ६८ प्रतिशतमा झर्‍यो।

त्यसपछि सन् २००६ मा घटेर ५३ प्रतिशतमा झर्‍यो। सन् २०११ को सर्वेक्षणमा पूर्ण स्तनपान गराउनेको संख्या बढेको देखिन्छ। त्यस वेला ७० प्रतिशतले पूर्ण स्तनपान गराएको उल्लेख छ। त्यसपछि सन् २०१६ को प्रतिवेदनमा फेरि घटेर ६६ प्रतिशतमा झरेको थियो। फेरि सन् २०२२ मा आउँदा १० प्रतिशतले कमी आएको छ।

सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ। पाँच वर्षअघि (सन् २०१६) को एनडीएचएस प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो।

यस्तै यही सर्वेक्षणले हाल नेपालमा शिशु जन्मिएदेखि पाँच महिनासम्म एक सय सुत्केरी आमामध्ये ५६ जनाले मात्रै स्तनपान गराउँछन् भने ४४ जनाले फर्मूला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन्।

स्तनपानलाई प्रोत्साहन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिवको अध्यक्षतामा स्तनपान प्रवर्धन संरक्षण समिति बनाए पनि समितिले प्रभावकारी काम गर्न नसकेको सर्वेक्षणको नतिजाले समेत  देखाएको थियो।

पाँच वर्षअघिसम्म नेपाल ६ महिनासम्म आमाको दूध बाहेक केही नखुवाउने दक्षिण एशियाली देशको सूचीमा नेपाल दोस्रो स्थानमा थियो। पहिलो स्थानमा रहेको श्रीलंकामा ८२ प्रतिशतले पूर्ण स्तनपान गराउँछन्।

पछिल्लो समय पूर्ण स्तनपान गराउने महिलाको संख्या घट्दै गएपछि भविष्यमा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर नगरोस् भन्नकै लागि महिलालाई ६ महिना सुत्केरी बिदा दिने तयारी अघि बढाइएको बालरोग विशेषज्ञ समेत रहेका महाशाखा प्रमुख डा. पौडेलले बताए।

चिकित्सकका अनुसार बच्चा जन्मिएपछि जति सक्दो चाँडो स्तनपान गराउन चिकित्सकको सुझाव छ। विभिन्न अध्ययनले पहिलो आउने दूधले पहिलो खोपको काम गर्ने देखाएको छ। यस्तो दूधमा प्रशस्त मात्रामा इम्युनोग्लोबिन हुँदा बच्चामा रोगसँग लड्न सक्ने शक्तिको विकास हुने देखाएको छ।

बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्णरूपमा बालबालिकालाई आमाको दूध मात्रै खुवाउनुपर्ने भए पनि कामकाजी धेरै महिलाहरूले आफ्ना बालबालिकाहरूलाई फर्मूला दूध खुवाउने क्रम बढ्दै जाँदा भविष्यमा बालबालिकाको पोषणमा असर गर्ने हुँदा महिलामा सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउनैपर्ने अवस्था आएको डा. पौडेलले बताए।

‘बच्चा जन्मेदेखि ६ महिनासम्म बालबालिकालाई आमाको दूध मात्रै खुवाउनुपर्ने हुन्छ। यसरी खुवाइएको दूधले बालबालिकालाई खोपकै काम समेत गर्छ तर अहिले धेरै महिला काम बाहिर जाने हुँदा आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टामा पाइने विभिन्न प्रकारका फर्मूला दूध  खुवाउने प्रचलन बढ्दै गएको छ। यसले बालबालिकामा चाहिने पोषकतत्त्व नपुग्ने जोखिम बढाउँछ तर कम्तिमा जन्मेको ६ महिनासम्म बालबालिकाले आमाकै दूध मात्र खुवाउन सकियो भने धेरै राम्रो हुन्छ। त्यसैले कामकाजी सुत्केरी महिलालाई हाल दिँदै आएको सुत्केरी बिदाको समयलाई बनाउन लागिएको हो‘‚ डा. पौडेलले भने।

चिकित्सकहरूका  अनुसार जन्मेदेखि ६ महिनाका बालबालिकालाई  एक दिनमा कम्तिमा पनि ६ पटक देखि छिटो–छिटो खुवाएमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.