|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कार्यक्रम खारेज गर्नुपर्ने मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ। पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले कोष खारेज गर्नुपर्ने निर्णय गरेको थियो। 

अहिलेको आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम भएकाले कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले थाहाखबरलाई जानकारी दिए।

जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोषमार्फत प्रत्येक सांसदले ५ करोड पाउनेगरी बजेट व्यवस्थापन गरिएको घोषणा गरेका थिए। 

रास्वपाले भने ६ कारण देखाउँदै सांसद विकास कोष खारेजीको माग गरेको छ। जसमा अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, संघीयता र विशेष गरेर स्थानीय सरकारको अधिकार क्षेत्र मासिने, व्यक्ति पूजन संस्कृतिलाई बढ्वा दिने, भ्रष्टाचार बढ्नेलगायत कारण रहेका छन्। 

दर्ता भएको संकल्प प्रस्ताव संसद सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाइने गिरीले बताए। संकल्प प्रस्तावमाथि सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिएपछि संसदबाट निर्णयार्थ पारित गरिने र  कार्यान्वयनमा लैजान निर्देशन हुने सहसचिव गिरीले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.