|
मंगलबार बसेको मन्त्रिपरिषदको बैठक। तस्वीर : रासस

काठमाडौं : आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट (विनियोजन विधेयक) संशोधनको विषयलाई लिएर मन्त्रिपरिषद् विभाजित भएको छ। १० दलको गठबन्धन भएर बनेको सरकारमा मन्त्री बन्न नपाएका सत्तापक्षका सांसदहरुले नै बजेटको विरोध गरिरहेका छन्। 

सत्तापक्षका सांसद र सत्ता साझेदार दलको मात्र होइन मन्त्रिपरिषदमै रहेका कतिपय मन्त्रीको समेत चित्त बुझेको छैन। थाहाखबरसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सत्तापक्षकै सांसदको चित्त नबुझेकाले अर्थमन्त्री संशोधन गर्न बाध्य हुने दाबी गरेका छन्। 

मन्त्री आचार्यले आफ्नो मन्त्रालयमा अघिल्लो वर्षको जस्तै बजेट आएकाले आफूले बजेट थप्नेबारेमा कुरा गरिरहेको जानकारी दिए। ‘मेरै मन्त्रालयमा पनि ज्येष्ठ नागरिक, बाल उद्यान, महिला सशक्तीकरणका लागि बजेट थप्नुपर्छ भनेर मैले कुरा गरिरहेको छु‚’ उनले थाहाखबरसँग भने।

अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल भइरहेको र छलफल सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतको छलफल हुने र आवश्यक निर्णय लिइने उनले सुनाए। 

बजेट वितरण राम्रो तरिकाले समानुपातिक तरिकाले भएन भन्ने असन्तुष्टि सत्तापक्षकै सांसदहरुमा पनि छ। उनले भने, ‘अर्थमन्त्री कन्जुसै हुन् क्यारे तर प्रेसरले काम गर्ला नि! बजेट जति तीनवटा जिल्लामा भन्ने छ, त्यसरी मात्र त देशको भलो नहोला नि!’ 

तर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेट संशोधनको कुनै सम्भावना नरहेको जिकिर गरेका छन्। उनले भने, ‘बजेट संशोधनको पक्षमा हामी छैनौँ। हाम्रो मन्त्रालयको मात्र होइन कुनै मन्त्रालयको हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.