|

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ। शरीरमा सन्तुलित आहारको मात्रा पुगे बालबालिका स्वस्थ रहन्छन्। राम्रो पोषण पाएका बालबालिकाहरूले राम्ररी सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटसँग लड्न सक्छन्।

अहिले पनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकेका छैनन्। यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ। यसै सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन) विनिता पन्तसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ। 

शरीरलाई पोषण किन चाहिन्छ ?

शरीरका लागि पोषण एकदमै आवश्यक छ। पौष्टिक तत्त्वको प्रयोग हुने प्रक्रिया भनेकै पोषण हो। शरीरमा बन्ने विभिन्न कम्पाउण्ड हेमोग्लोबिन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ। हाम्रो शरीरमा पौष्टिक तत्त्वको उपयोग हुनुपर्ने हुन्छ। शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गर्छौं। शरीरलाई शक्ति प्रदान गर्न पोषणको भूमिका हुन्छ। शरीरका विभिन्न अंग सञ्चालन गर्न पनि पोषण चाहिन्छ। पोषण भन्नेबित्तिकै सन्तुलित खानाको राम्रो प्रबन्ध गरेको भनेर बुझिन्छ। 

शरीरका लागि कस्तो पौष्टिक आहार आवश्यक छ ?

हामीले सन्तुलित खानेकुरा खानुपर्छ। सन्तुलित आहार भन्नेबित्तिकै पाँचवटा खाद्य समूह भनेर बुझ्नुपर्छ। हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दूध र अण्डा समूह र चिल्लो–गुलियो समूह। यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरका लागि आवश्यकताअनुसार (उचाइ, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो। यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ। सन्तुलित खानेकुराको प्रबन्ध मिलाउनुलाई नै पोषण हो।

शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामी आउने गर्छन् ?

नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन। बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि हामीकहाँ बिरामी आउनुहुन्छ। धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ।

आजभोलि अलिकति केही बदलिएको छ, हामीकहाँ मोटोपन समस्या भएका पनि आउनुहुन्छ। उहाँहरूको आवश्यकताअनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ। उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? उहाँलाई के आवश्यक छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं।

जस्तैः काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतिपाती गर्नुहुन्छ, के रोग छ ? त्योअनुसार आवश्यकताअनुसार पौष्टिक तत्त्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिन र खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पठाउँछौं।

पोषणका कारणले कस्ताकस्ता रोगले आक्रमण गर्छ ?

अहिलेको अवस्था हेर्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ। सबै व्यस्त हुनुहुन्छ। योसँगै मोटोपनको समस्या बढ्दो छ। मोटोपनको समस्याले मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलाको समस्या हामी सँगसँगै आइरहेको हुन्छ। त्यसले गर्दा पनि यो जोखिम बढिरहेको देखिन्छ।

सामान्यतया न्यून पोषण भएर आउने एकदमै कम छन्। कुपोषण भएका बालबालिकाहरू यहाँ आउने स्थिति पनि छैन होला। यहाँ त हामीकहाँ अधिक पोषण भएर आउनेहरूको संख्या धेरै छ। बाल्यकालदेखि नै उच्च कोलेस्ट्रोल भएका आउने गरेका छन्। हामीकहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरू आउनुहुन्छ।

कस्तो खाना खानुपर्छ ?

बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं। जस्तोः जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ। बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ। घरमा पाँचवटा खाद्य समूह खान आवश्यक छ। अन्न भनेर भन्दाखेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइन, घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलाई पकौडी बनाइदिनुहोस्, घरमै स्वच्छ तेलमा बनाइदिनुहोस्।

बच्चालाई चिल्लो र तारेको खानेकुरा खानै दिन नहुने होइन। घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक दिन सकियो भने बच्चा पक्कै पनि पोषित हुनसक्छ। खानेकुरा चाहिँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरूको खेल्ने वातावरण छैन, हाम्रो शारीरिक क्रियाकलाप एकदमै न्यून छ। त्यसले गर्दा घरकै खानेकुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ।

त्यसैगरी बच्चैदेखि आमाहरूले यति धेरै खुवाउनुहुन्छ कि दिनमा चाहिनेभन्दा नचाहिने पौष्टिक तत्त्व खुवाउनुभएको हुन्छ। इनर्जी, प्रोटिनहरू चाहिनेभन्दा धेरै खुवाउनुभएको हुन्छ। त्यसकारणले सानै उमेरबाट मोटोपनको समस्या बढ्दो छ। अहिले मकहाँ आइपुग्ने प्रत्येक आमालाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो? स्तनपान गराउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो कि बजारबाट किनेको ? त्योबाट शुरु गरेर मैले परामर्श दिन्छु। मोटोपनको समस्या फर्मुला मिल्क (दूध) बढी खुवाएको बालबालिकामा देखिएको छ।

कुपोषणले ख्याउटेपन र पुड्कोपनको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ?

पुड्कोपनको समस्या भनेको आमाको समस्याबाट जाने गर्छ। आमा, बुवामा पुड्कोपन छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपन देखिन सक्छ। त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ। त्योसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुरक्षित छन् ? कति पौष्टिक तत्त्व पुगेको छ ? त्यसलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ। बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ।

घरपरिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो। सुरक्षित खानेकुरा पनि आवश्यक हुन्छ। आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ। समय नपुगी बच्चा जन्मिदा बच्चाको तौल र उचाइ पुगेको हुँदैन। यसले गर्दा कुपोषण निम्त्याउँछ। कुपोषणसँगै विभिन्न संक्रामक रोग लाग्नसक्छ। यसले गर्दा बच्चालाई मृत्युको मुखसम्म पुर्‍याउन सक्ने सम्भावना हुन्छ।

विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ। विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउँछन्। खाद्यान्न अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.