वाणिज्य बैंकहरूले गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। वित्तीय विवरणले अधिकांश बैंकहरूको नाफा बढेको देखाएको छ भने केहीको घटेको र केहीको स्थिर रहेको देखाएको छ।
योभन्दा अघि नै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो। मौद्रिक नीति सार्वजनिक भएपछि पनि सेयर बजारको यात्रामा उत्तारचढाव नै देखियो।
वित्तीय विवरण र बैंक ब्याजदरबाट सेयर बजार प्रभावित हुने गरेकोमा योपटक पनि यस्तै अवस्था देखिएको छ।
कसिलो मौद्रिक नीतिको कारण सेयर बजारमा विगत देखिको लगाम अहिले पनि कायमै रहेको छ। लगानीकर्ताको अपेक्षा र नियामक निकायको नीति फरक धारतर्फ अघि बढिरहेको बजारले देखाएको छ।
अहिलेको अवस्थामा सेयर बजारमा कहिले सुधार आउला भनेर भन्न सक्ने अवस्था छैन। मौद्रिक नीतिकै कारण बजारमा गिरावट आएको लगानीकर्ताले बताउँदै आएका छन्।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९-८० को असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले मुलुकको बाह्य क्षेत्र सुधार भएको देखाएको छ। आयातमा कमी र रेमिट्यान्समा सुधार हुँदा बाह्य क्षेत्र सकारात्मक भएको हो।
सोही कारण शोधनान्तर स्थिति बचतमा गएको देखिन्छ। तर, मूल्यवृद्धि नियन्त्रण नहुनु, निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदरमा संकुचन, आयात र निर्यात व्यापार खुम्चिनु र सरकारको राजस्वमा आएको कमीले आन्तरिक अर्थतन्त्र शिथिल रहेको देखाएको छ।
कसिलो मौद्रिक नीतिले मुद्रास्फीति बढ्न नदिन र नियन्त्रण गर्ने आशा आम नागरिकले गरेका थिए। नीतिबाट मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा सबैले गरेका थिए। तर, त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको छैन।
आन्तरिक आर्थिक गतिविधि शिथिल रहेको कारण बैंक तथा वित्तीय क्षेत्रले लगानी विस्तार गर्न नसक्दा करिब ४ खर्ब रुपैयाँ निस्कृय अवस्थामा रहेको छ। यसलाई हेर्दा तत्कालै सेयर बजारमा आमुल परिवर्तन आउने संकेत सूचकांकले देखाउँदैन।
माग र आपूर्तिको सिद्धान्त बस्तुमा मात्र नभएर सेयर बजारमा पनि लागू भएको छ। मागभन्दा बढी सेयर भएमा मूल्य घट्छ भने मागभन्दा कम भएमा बढ्ने गर्छ। तर, हामीकहाँ सेयरको संख्या प्रत्येक वर्ष बढ्दै गइरहेको छ। सोही कारण सेयरले उचित मूल्य पाउन नसकेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को गत असार मसान्त सम्मको विवरणले गत तीन वर्षमा सूचीकृत हुने कम्पनीको संख्या १५ प्रतिशतले वृद्धि भएको देखाएको छ।
सूचीकृत कम्पनीको संख्या बढ्न सक्ने देखिएको छ। किनकी नियामक निकायले सेयर निष्कासनका लागि बनाइएका मापदण्डलाई परिमार्जन गर्दै खुकुलो बनाइरहेका छन्। यसले पनि बजारमा थप सेयर आउनेछ। यो भनेको सेयरको मागभन्दा अझ बढी आपूर्ति बढ्नु हो।
हरेक साता जस्तो सेयर बजारमा प्राथमिक सेयर निष्कासन भइरहेका छन्। बोनस सेयर, हकप्रद सेयर सूचीकरण हुने क्रम पनि यही क्रममा बढिरहेका छन्। यसले मागभन्दा आपूर्ति बढाउन सहयोग पुर्याइरहेको देखिन्छ। मागभन्दा बढी आपूर्तिले बजारमा सेयर मूल्य घट्ने देखिन्छ।
अहिले सेयर बजारमा लगानीकर्ताभन्दा पनि अल्पककालीन कारोबार गर्ने ट्रेडर हावी भएको देखिन्छ। सबैंभन्दा धेरै नविल बैंकले ७६ प्रतिशत नाफा गरेको छ।
त्यसैगरी ग्लोबल आईएमइ बैंक, स्टयाण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, प्रभु बैंक, एसबिआई बैंकको नाफा बढेको छ। कुमारी र प्राईम बैंकबाहेक अरू सवै वाणिज्य बैंकको नाफा बढेको गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरणले देखाएको छ।
नाफा बढ्नु भनेको त्यस्ता कम्पनीको प्रतिसेयर आम्दानी बढ्नु हो। प्रतिसेयर आम्दानी बढेका कम्पनीको पनि सेयर मूल्य बढ्न सकेको छैन।
नाफा बढे पनि त्यस्ता सेयरको माग पुँजी बजारमा आउन सकेको छैन। माग नै नभएपछि ती कम्पनीको सेयर मूल्यमा सुधार आउन सकेको छैन। बैंकको नाफा बढ्दा लगानीकर्ताको लाभांश बढ्नु स्वाभाविक हो। तर, सेयर मूल्य माथि जानुपर्नेमा हामीकहाँ भने तल पनि झर्ने गरेको छ।
केन्द्रीय बैंकको मर्जर नीतिको कारण वाणिज्य बैंकहरूको संख्या घेटर २० मा सीमित भएको छ। विकास बैंक र वित्त कम्पनीको संख्या पनि सोही अनुपातमा झरेका छन्। पुँजी वृद्धिसँगै वाणिज्य बैंकको सेयरको संख्या पनि बढेको छ। तर, सेयर संख्याको अनुपातमा मागमा वृद्धि हुन सकेको छैन।
नाफा देखाउन केही कम्पनीहरूले जगेडा कोषको रकम घटाएका छन्। नाफा देखाउनैका लागि जगेडा कोषमा रहने रकम घटाउनुलाई सकारात्मक मान्न सकिँदैन।
जगेडा कोषमा रहेको रकम तत्कालै लगानीकर्ताको हातमा नपरे पनि यसले संस्थालाई मजबुत बनाउने काम गरिरहेको हुन्छ।
भोलिका दिन थप आम्दानी आर्जनम गर्न जगेडा कोषको रकम प्रयोग हुने हुँदा यसलाई पनि लगानीकर्ताले सेयर खरिद गर्नुअघि हेर्नुपर्छ।
नेप्से परिसूचक घटेको बेला लगानीकर्ताले सक्षम र नाफा बढाउँदै लगेका कम्पनीको सेयर किन्नु उपयुक्त मान्ने गरिन्छ। तर, कम्पनीको ग्रोथ नहेर्ने ट्रेडरले भने मूल्य बढेको बेला पनि सेयर खरिद गर्छन्। त्यस्ता लगानीकर्ता घाटामा जान सक्छन्।
यस्तो कार्य प्राय ट्रेडरहरूले गर्ने गर्छन्। अल्पकालीन अवधिमा नाफा आर्जन गर्नु नै उनीहरूको मुख्य लक्ष्य रहेको हुन्छ। यसले पनि दीर्घकालमा ट्रेडरको भन्दा लगानीकर्ताले सेयर बजारबाट बढी प्रतिफल लिन सक्ने देखिएको छ।
सेयर बजारमा मूल्यलाई विभिन्न कारणले प्रभावित पारिरहेको हुन्छ। सेयरको मूल्य कुनै एउटा कारणले मात्रै घट्ने वा बढ्ने हुँदैन।
यसमा बजार मनोविज्ञानको पनि सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ। त्यसैले सेयर खरिद गर्नुअघि लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको कम्पनीको प्राविधिक र वित्तीय विश्लेषणलाई पनि हेनुपर्ने अहिले बजार बिज्ञहरूले बताउने गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा पनि सेयरको मूल्य २० प्रतिशत बढेमा त्यसले बुलिस बजारको संकेत दिने गरेको मानिन्छ भने घट्यो भने वियरिसतर्फ जान सक्ने आँकलन गरिन्छ। सेयर बजारमा सेयरको मूल्य कम्पनीको आधारभूत विश्लेषणका आधारमा मात्र नभई वित्तीय रुपलाई पनि हेर्नुपर्छ।
विभिन्न कारणले गर्दा अपवादको रूपमा प्राविधिक विश्लेषणले समर्थन नगर्न सक्छ। त्यस्तो बेला वित्तीय वितरणले भूमिका खेल्न सक्छ। त्यसैले प्राविधिक र वित्तीय दुवै अवस्थाको सेयर बजारमा उत्तिकै भूमिका रहेको छ।
अहिले सेयर बजार खस्कँदो अवस्थामा छ। २ वर्ष अघि करिब ३२ सय पुगेको नेप्से अहिले २ हजारको आसपास खुम्चिएको छ। यसरी सेयर मूल्य घट्दै जानु भनेको देशको आन्तरिक अर्थतन्त्र बिग्रँदै जानु हो।
वित्त नीतिमार्फत सेयर बजारको विकास अर्थ मन्त्रालयले गर्नुपर्छ भने मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गर्नुपर्छ। सेयर बजारमा आशाका स्रोत भनेका वित्त नीति र मौद्रिक नीति नै हो। अहिले सामान्य नागरिकको ठूलो रकम घरजग्गा र सेयरमा रहेको छ।
यसलाई चलायमान गर्न सकियो भने अर्थतन्त्रमा सुधार आउन सक्छ। बजेटले मौद्रिक नीतिलाई देखाउने र मौद्रिक नीतिले बजेटलाई देखाउने परिपार्टीका कारण पनि सेयर बजारमा सुधार आउन सकेको छैन। यी कुरालाई हेर्दा सेयर बजार उपेक्षित अवस्थामा नै रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।