बिनासर्त राप्रपामा आउने, अध्यक्षमा लड्ने प्लान

|

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापा विभाजनको डेढ वर्षमा राजसंस्थाको पक्षमा उभिएका छन्। ०७८ माघमा अध्यक्षमा पराजित भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राजसंस्था त्यागेका उनी पूर्वत् अवस्थामा फर्किने मनस्थितिमा पुगेका छन्। कमजोर संगठनका कारण चरम निराशामा पुगेका थापाले पार्टी नै धरापमा पुगेपछि ‘सेफल्याण्डिङ’ खोजेका हुन्। 

राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्न नसकेर पार्टी विभाजन गरेका उनी अहिले उनै लिङ्देनलाई नेता मानेर जान तयार छन्। विगतका गल्तीलाई प्रायश्चित गर्दै राप्रपामा पार्टी विलय गराउने तयारी थापाको छ। ०७९ को निर्वाचनमा जनताले कमल थापालाई सवक सिकाएका छन्। 

राजसंस्था र हिन्दु राज्यको एजेण्डा विपरित कम्युनिष्ट पार्टी एमालेको सूर्य चिन्हमा मकवानपुर–१ बाट चुनाव लडेका थापाले २५ हजार ४६० मत ल्याएर तेस्रो भए। उनलाई राप्रपाका दीपक सिंहले २७ हजार ८५१ मत ल्याएर पराजित गरेका थिए। राजसंस्थाको जगमा टेकेर राजनीति गरेका उनलाई जनताले कम्युनिष्ट बनेको मन पराएनन्। सोही बमोजिम उनले आत्मसमीक्षा गरेको देखिन्छ। 

थापाको पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत राम्रो सम्बन्ध छैन। थापाले भेट्नका लागि समय माग गरिरहँदा वेवास्ता गर्दै आइरहेको स्रोतको दाबी छ। 

‘०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएपछि थापाले राजाको विश्वास गुमाएका हुन्। त्यसकारण उनी अध्यक्षमा पराजित भए। पछिल्लो समय राजासँग पनि राम्रो सम्बन्ध छैन। भेट्न प्रयास गरे पनि राजाले समय दिएका छैनन्,’ पूर्वराजा शाह निकट स्रोत भन्छ।  

राप्रपाले स्वीकार गर्ला?

पार्टी छाडेर गएको दुई वर्ष पनि नपुग्दै राप्रपा फर्किने मनस्थितिमा रहेका थापालाई अध्यक्ष लिङ्देनले स्वीकार गर्ने अवस्था छैन। अध्यक्षमा पराजित भएसँगै निर्मल निवासलाई गम्भीर आरोप लगाउँदै बाहिरिएका उनको आगमनलाई लिङ्देनले स्वीकार गर्न नसक्ने राप्रपा स्रोत बताउँछ। राप्रपा नेपालमा सक्रिय हुन नसकेका थापा अवसरवादी नेताका रूपमा परिचित छन्। 

‘राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण हुँदैन। बिना सर्त पार्टी विलय गराउने मुडमा पुगेका छन्। त्यसपछि उनी राप्रपामा वरिष्ठ नेता भएर खेल्ने र आगामी महाधिवेशनमा अध्यक्षमा लड्ने उनको प्लान छ,’ राप्रपाका एक नेताले थाहाखबरसँग भने। 

कमल थापा बाहिरिएसँगै लिङ्देनलाई पार्टी सञ्चालनमा सहजता रहेको राप्रपाका नेताहरू नै स्वीकार गर्छन्। साथै उनको बर्हिगमनले पार्टीमा युवा नेताहरूको आवागमन समेत भएको छ। विवेकशील साझा हाँकिरहेका पूर्वपत्रकार रवीन्द्र मिश्र, ज्ञानेन्द्र  शाही जस्ता युवा नेताहरू राप्रपामा भित्रिएका छन्। 

‘उनी बाहिरिएर राप्रपालाई फाइदा भएको छ। उनी गएपछि रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू भित्रिएर पार्टी थप शक्तिशाली भइरहेको छ। यसकारण उनी आए पार्टीमा झनै बेथिति, गुट चलायमान हुन्छ,’ राप्रपाका ती नेताले भने।

राप्रपा महामन्त्री धवलसमशेर जबरा पनि कमल थापालाई भित्र्याउने कुनै तयारी नभएको बताउँछन्। ‘उहाँलाई भित्र्याउनेबारे कुनै छलफल नै भएको छैन। पार्टीमा नेताहरू आउनु राम्रो हो। तर, प्रक्रियागत रूपमा कुनै तयारी छैन। मिडियामा आह्वान गरेर हुँदैन,’ उनले भने।  

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला पछिल्ला विकसित घटना क्रमहरूले आफूहरूलाई राजसंस्थाको पक्षमा उभ्याउन बाध्य बनाएको बताउँछन्। 

‘कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा हामी राजासहितको प्रजातन्त्र आत्मसात गर्ने, सनातन हिन्दुराष्ट्र कायम गर्ने अवस्थामा पुग्यौँ। व्याप्त भ्रष्टाचार, राष्ट्रपति पनि दलभन्दा माथि उठ्न नसकेको र हिन्दु धर्मविरूद्ध ठूलो चलखेल भइरहेकाले अभिभावकका रूपमा राजसंस्था हुनुपर्ने पक्षमा उभिएका हौँ,’ उनले भने। 

महामन्त्री बर्तौलाले समान विचारधारा भएका राष्ट्रवादीहरू एक हुनुपर्ने आवश्यकता महसुस भएको बताए। ‘समान विचारधारा भएका राष्ट्रवादी एक हुनुपर्ने आवश्यकता महसुस भएको छ। हामीले वार्ताका लागि आह्वानसमेत गरिसकेका छौँ। विचार र सिद्धान्तको राजनीति गरौँ। पद गौण कुरा हो भन्ने निष्कर्षमा पुगेका छाैँ,’ उनले भने।  

लोभलाग्दो सत्ता यात्रा 

कमल थापा भन्ने वित्तिकै दरबारका नजिकका पात्र स्मरण हुन्छ। उनको दरबारसँगको निकटता उनी बाल्यावस्थादेखि नै हो। ०१२ सालमा काठमाडौँको डिल्लीबजारमा जन्मिएका थापाका बाबु छत्रबहादुर नेपाल सेनाका कर्णेल थिए। 

आफ्ना बाबु दरबारसँग निकट रहेका कारण कमलले पनि दरबारलाई नजिकबाट चिन्ने अवसर पाए। ०१६ सालमा बाबु सेनाबाट रिटायर भएपछि काठमाडौँको सेन्ट जेभियर्समा पढ्दै गरेका उनी २०२२ सालमा हेटौँडाको भुटनदेवी माविमा भर्ना भए। त्यसबेला थापा जम्मा १० वर्षका मात्रै थिए। परिवारसहित हेटौँडा बसाई सरेका थापाको परिवार पुनः काठमाडौँ फिर्ता भयो। ०२५ सालमा थापा काठमाडौँमा रहेकाे पद्मोदयमा भर्ना भए। खेलकुद क्षेत्रमा राम्रो दक्खल राख्ने थापा फुटबल क्षेत्रमा उदाए। 

राष्ट्रिय फुटबल टोलीमा उदाएका थापाका दाजु नेत्रबहादुर पनि नेपाली सेनाबाट राष्ट्रिय फुटबल टोलीबाट खेल्थे। नेत्रबहादुरले विद्या भण्डारी राष्ट्रपति हुँदा दुवै कार्यकाल सुरक्षा सल्लाहकार भएर कामसमेत गरेका थिए। कमल थापाका भाइ गणेश थापा पनि फुटबल क्षेत्रका हस्ती मानिन्छन्। लामो समय फुटबल खेलाडी भएका गणेश  फुटबल संघको अध्यक्ष भएर काम गरिसकेका छन्। 

कमल थापाले राजनीतिमा आउनु अगाडि फुटबल क्षेत्रमा योगदान गरेका छन्। उनी २३ वर्षको उमेरमा ०३६ सालमा अखिल नेपाल फुटबल संघको अध्यक्ष भए। त्यसअघि नै उनलाई ०३४ सालमा राजा वीरेन्द्रले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत गरिसकेका थिए। २०४४ मा दशरथ रंगशालामा दुर्घटना भएपछि उनले एन्फा अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

थापाका बाबु छत्रबहादुर राजा महेन्द्र निकट भएर काम गरेका पात्र हुन्। नेपाली सेनाबाट रिटायर भएपछि छत्रबहादुरलाई राजा महेन्द्रले नारायणहिटी बनाउने जिम्मेवारी दिए। उनले त्यसको प्रमुख भएर काम गरे। यस्तै अन्य विकास निर्माणका काममा समेत महेन्द्रले छत्रबहादुरमाथि विश्वास गरे। बाबु दरबार निकट रहेकाले कमल थापाको पनि राजनीतिप्रतिको रस पस्न थाल्यो। पढाइमा अब्बल थापाले औपचारिक रूपमा ०३१ सालबाट राजनीतिक यात्रा आरम्भ गरे। १६ वर्षको उमेरमा राजनीतिमा होमिएका थापा ०३१ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलको संस्थापक अध्यक्ष भए। त्यसपछि ०४३ सालको चुनाव जितेका थापा सञ्चारमन्त्री नियुक्त भए।

राजाको आर्शिवाद पाएका थापाले खेल र राजनीतिबाट कहिल्यै पछाडि फर्किनु परेन। ०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए। यस्तै ०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री भए। ०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा परराष्ट्र र कृषिमन्त्री भएर काम गरेका थापाले ०६० सालमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले।

थापाले ०६२ मा राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री भएर काम समेत गरिसकेका छन्। ०६५ सालमा गणतन्त्र स्थापना भए पनि थापा सत्ता बाहिर बस्नु परेन। उनलाई दरबारको आर्शीवाद निरन्तर प्राप्त भइराख्यो। तर, पूर्वावस्थामा दरबारलाई नै हातमा लिएर राजनीतिको रोटी सेक्न सिपालु थापा सत्ताका लागि जुनसुकै सम्झौता पनि स्वीकार गर्न थाले। त्यसपछि निरन्तर दरबारको विश्वास गुमाउँदै गए। 

०६३ पछि पार्टीको नेतृत्व सम्हालेका थापाले ०७४ सालसम्म आइपुग्दा ३७ सिट (कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपाल २४ र राप्रपाका १३ सांसद) रहेको पार्टीलाई सानो झुण्डमा पुर्याएका थापाको सत्तारोहण चाखलाग्दो नै छ। गणतन्त्रपछि ०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री भएर काम गरे। यस्तै प्रचण्ड नेतृत्वको सरकारमा ०७३ मा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र ०७४ मा शेरबहादुर नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका थिए।  

चुनावमा निरन्तर हार, बुढेसकालमा दु:खद् 'ल्याण्ड'

राजनीतिका बादशाह मानिएका थापाले ०४८ यता एउटा मात्रै संसदीय निर्वाचन जितेका छन्। ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा विजयी भएका थापाले त्यसपछिको संसदीय निर्वाचन प्रत्यक्ष एक पटक समेत जित्न सकेका छन्। प्रजातन्त्र पुनःस्थापनापछि ०४८ मा  भएको पहिलो आमनिर्वाचनमा पराजित भएका उनले ०५१ को मध्यावधि निर्वाचनमा विजयी भए। 

०५६ मा मकवानपुर–१ बाट पराजित थापा ०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट पनि पराजित नै हुनुपर्‍यो। ०७० को संविधानसभा निर्वाचनमा थापा चुनावी मैदानमा होमिएनन्। उनी समानुपातिकबाट छानिएका थिए। त्यसपछि ०७४ सम्म ओली, प्रचण्ड र देउवाले नेतृत्व गरेको सरकारमा मन्त्री बने। 

०७४ को प्रतिनिधिसभामा मकवानपुर–१ बाट पुन पराजित भए। पार्टी विभाजन गरेर सानो झुण्डमा पुर्‍याएका थापालाई जनताले एक पटक मात्रै रूचाए। पुनः ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नै कार्यकर्ताबाट पराजित हुनुपर्यो।

सत्ता यात्रामा रमाएका कलम थापाको राजनीतिक यात्रामा पूर्णविराम ०७८ सालबाट सुरू भयो। सत्ता राजनीतिमा हस्ती मानिएका थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिरमा भएको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग पराजित भए। निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउँदै थापाले लिङ्देनलाई बधाईसमेत दिएका थिए। तर, उनी लामो समय राप्रपामा बसेर राजनीति नगर्ने निर्णयमा पुगे। 

अध्यक्षमा पराजित भएकै दिन उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

राजतन्त्र, हिन्दुराष्ट्रको एजेन्डा बोकेर सत्ताको रस चुसेका थापाले ०७८ माघमा राप्रपा नेपाल नामको पार्टी दर्ता गरे। अध्यक्षमा पराजित भएपछि आफूलाई अपमानित महसुस गरेका उनले राजसंस्था पुनःस्थापनालाई आफ्नो एजेण्डाबाट हटाए। 

‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान रहनेछ । तर राजसंस्था पुनःस्थापना हाम्रो कार्यनीति अहिले हुँदैन,’ पार्टी विभाजन गरेसँगै थापाले भनेका थिए। तर, उनै थापाले आज पत्रकार सम्मेलनमा केही वर्ष भित्रै राजसंस्था पुर्नस्थापित गर्ने घोषणा गरेका छन्। 

‘केही वर्षभित्रमा नै राजसंस्था पुनःस्थापना गर्नेछौँ र नेपाललाई हिन्दु राष्ट्र बनाउने छौँ। राजसंस्थाको एजेण्डालाई मुख्य एजेण्डा बनाउने र त्यो एजेण्डा पूरा गर्न आन्दोलनको घोषणा रहर पूरा गर्न मात्र होइन। हाम्रो शोख र लहडले गरिएको होइन।

यो आन्दोलन कसैका विरूद्ध लक्षित छैन्। यो रणनीतिक योजना पनि होइन। यो कांग्रे, एमाले, माओवादी वा राप्रपा नेपाल भएर होइन। राष्ट्रलाई माया गर्ने नेपाली भएर छातीमा हात राखेर सोचौँ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.