'मन्त्रीले राम्रो काम नगरेपछि कांग्रेसमाथि च्यालेन्ज थपियाे'

|

काठमाडौं : नेपाली कांग्रेसबाट नाैजना मन्त्री सरकारमा छन्। २०७९ चैत १७ र वैशाख २१ गते शपथ लिएका मन्त्रीहरूले सरकारमा क्रमश: पाँच र साढे तीन महिना बिताइसकेका छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नाैजना मन्त्री सरकारमा सहभागी छन्। 

खड्काले उपप्रधानसहित रक्षामन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। अर्थमा डा. प्रकाशशरण महत, कानून न्याय तथा संसदीय मामिलामा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामा मोहनबहादुर बस्नेत, महिला तथा बालबालिकामा सुरेन्द्रराज आचार्य, परराष्ट्रमा नारायणप्रसाद साउद, उद्योगमा रमेश रिजाल, शहरी विकासमा सीता गुरुङ र  युवा तथा खेलकुद मन्त्रालयमा डिगबहादुर लिम्बु रहेका छन्।

कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने अधिकांश मन्त्रीहरू अनुभवी छन्। सीता, सुरेन्द्र बाहेक कांग्रेसका सबै मन्त्री पुराना अनुहार हुन् तर उनीहरूले सरकारलाई सफल बनाउन प्रभावकारी ढंगले काम गर्न सकेको पाइँदैन। 

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेसका मन्त्रीहरूको प्रस्तुतीकरणलाई लिएर प्रश्न उठाए। उनले माओवादी केन्द्रसहित अन्य मन्त्रीहरूले स्टण्टबाजी काम गरिरहँदा कांग्रेसका मन्त्रीहरू गुमनाम भइरहेको भन्दै आलोचना गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेका उनले कांग्रेसका मन्त्रीप्रति खरो टिप्पणी गरे। 

‘यो सरकारको गुणको जस प्रधानमन्त्रीले लिने हो‚ कांग्रेसले लिने हो र गठबन्धनले पनि लिने हो। अन्ततः जस प्रधानमन्त्री प्रणालीमा प्रमले लिने हो। समग्रमा हेर्दा प्रधानमन्त्री र गृहमन्त्री दुईजना पसिनाले मैलिएको अनुहार पुछ्दै अलि अलि दौडदै केही गरिरहेको सन्देश दिने प्रयास गरिरहेका छन्। अहिलेको मितिसम्म थपिएका मन्त्रीहरूको पनि हेरिरहेका छौं। कांग्रेसका मन्त्रीहरूको ‘पफमेन्स’  इतिहासकै झल्लु ‘पफमेन्स’ छ’, उनले भनेका छन्। 

सांसद बजगाईलाई आफ्नै पार्टीका मन्त्रीको कार्यशैलीमाथि किन यस्तो टिप्पणी गर्नुभयो ? भनेर हामीले प्रश्न राख्यौं। जवाफमा उनले डेलिभरी दिनसक्ने सिरियस मन्त्रालयको जिम्मेवारीमा रहे पनि मन्त्रीहरूले काम गर्न नसकेकाले आफूले प्रश्न उठाएको बताए। 

‘कानूनमन्त्रीको कामले केही विवाद आयो। अधिकांश मन्त्री पुरानै अनुहारका हुनुहुन्छ। नयाँले पनि काम गर्न सकेका छैनन्। नयाँलाई काम गर्ने हुटहुटी र पुरानालाई यसअघि गर्न नसकेका काम गर्ने अवसर हुनुपर्ने तर त्यो पाइएन। यस वेला मुलुकमा इकोनोमिक्स क्राइसिस छ। उहाँहरू सिरियस मन्त्रालयमा हुनुहुन्छ। जनतालाई डेलिभरी दिनुपर्ने ठाउँमा हुनुहुन्छ तर काम नै देखिएको छैन’, उनले थाहाखबरसँग भने। 

सांसद बजगाईंले सरकारमा रहेका मन्त्रीहरूले राम्रो काम नगर्दा पार्टीलाई नै क्षति गरिरहेको बताए। उनले मन्त्रीले काम नगर्दा नयाँ दलप्रति आकर्षण र पुराना पार्टीप्रति घृणा पैदा गरिरहेको बताए। 

‘मन्त्रीले राम्रो काम गरेर देखाउन नसकेपछि पछिल्लो समय मूल पार्टी कांग्रेससहित माअ‍ोवादी एमालेप्रति जनताको घृणा र नयाँ दलप्रति जनताको आकर्षण बढिरहेकाले चुनौती पनि थपिएको छ’, उनले भने। 

स्टण्टबाजीमा माओवादी, कांग्रेस गुमनाम
पछिल्लो समय माअ‍ोवादी केन्द्रले सम्हालेका मन्त्रालयले प्रदर्शन गरिरहेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर कांग्रेसका नेतालाई जेल हाले। नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाएको आरोपमा कांग्रेस नेता बालकृष्ण खाँण यति वेला जेलमा छन्। यस्तै सुन प्रकरणलगायतमा मन्त्री श्रेष्ठले एक्सन लिइरहेका छन्। 

यस्तै पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका माअ‍ोवादीका मन्त्री सुदन किराँती स्टण्टबाजीमै रमाए। मन्त्रालयको पदभार ग्रहण गर्दै खादा माला नलगाउने र त्यसबापतको रकम सामाजिक कल्याणमा खर्च गर्ने घोषणा गरे तर उक्त घोषणा अहिले अलपत्र छ। त्यस्तै उनले मन्त्रालय मातहतको निकाय नेपाल वायुसेवाको सुधारका लागि समिति गठन, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरणलगायतका काममा खर्च गरे। यद्यपि पशुपति क्षेत्रको बेथिति, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भने उनले सुधारको काम गरे। माअ‍ोवादीबाट सरकारमा प्रधानमन्त्रीसहित ६ मन्त्री सरकारमा छन्। 

यता प्रतिनिधिसभा ८७ सिट रहेको कांग्रेसका मन्त्रीहरू गुमनाम बसेको गुनासो स्वयं कांग्रेसका नेताहरू स्वीकार गर्छन्। कांग्रेस प्रचारप्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा अधिकांश मन्त्रीहरूको काम सन्तोषजनक नरहेको स्वीकार गर्छन्। 

‘केही मन्त्रीको काम राम्रै छ तर अधिकांश मन्त्रीले अपेक्षाकृत ढंगले काम गर्न सक्नुभएन। यो असन्तुष्टि केन्द्रीय कमिटी बैठकमा पनि उठेको हो। माओवादी र अन्य पार्टीका मन्त्रीको स्टण्टबाजी छ तर धेरै मन्त्री भएर पनि प्रस्तुति राम्रो नगरेकै हो’, उनले थाहाखबरसँग भने। 

कांग्रेसका अर्का सांसद राजन केसी पनि पार्टीका मन्त्रीहरूले प्रभावकारी ढंगले काम गर्न नसकेको स्वीकार गर्छन्। 

‘प्रभावकारी ढंगले काम गर्न सुझाव दिइएको हो। बजेट भर्खरै आएको छ। कार्ययोजना बनाएर जानुपर्छ। समग्रमा पार्टीको स्प्रिटअनुसार काम नभएकै हो। यसलाई सुधार गरेर लैजानुपर्छ’, उनले भने। 

कांग्रेस निकट राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल सरकारमा रहेका दुईजनाबाहेक अन्य मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएको स्वीकार गर्छन्। गृह र स्वास्थ्यमन्त्री बाहेक अन्य मन्त्रीहरूले प्रभावकारी ढंगले काम गर्न नसकेको उनी बताउँछन्। 

‘गठबन्धनको सरकार छ। गृह र स्वास्थ्यमन्त्रीको कमाण्ड राम्रो देखिन्छ। प्रधानमन्त्रीय प्रणाली भएकाले देखिने गरी काम गर्न मन्त्रीसँग मात्रै सरोकार राख्दैन। प्रधानमन्त्रीले गरेको कार्यसम्पादनअनुसार काम भएको छ कि छैन‚ त्यो पनि महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘कामै नभएको कमजोर आपूर्ति मन्त्रालय हो। अर्थमन्त्री पनि आफूलाई दिग्गज ठान्नुहुन्छ तर अर्थतन्त्र शिथिल छ। ठेकेदारले भुक्तानी पाएका छैनन्।  समग्र अर्थतन्त्रको क्राइसिसलाई कसरी सम्बोधन गर्ने केही बोल्नुभएको छैन।’  

विवादित मन्त्री
नेपाली कांग्रेसका केही मन्त्री विवादित बने। अर्थमन्त्री डा. प्रकाशशरण महत, कानूनमन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र उद्योगमन्त्री रमेश रिजाल विवादमा तानिए। एक क्विन्टल सुन प्रकरणमा अर्थमन्त्री महतको राजीनामा मागियो। कांग्रेस सांसद सुनिल शर्माले साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समातिएको एक क्विन्टल सुन प्रकरणमा अर्थमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा मागेका थिए तर त्यो विषय त्यत्तिकै सामसुम भयो। 

यस्तै मन्त्री नियुक्त हुनुअगाडि सुशासनको पक्षमा चर्को अभिव्यक्ति दिने धनराज गुरुङ पनि विवादमुक्त हुन सकेनन्। कानून मन्त्रालयको जिम्मेवारीमा पुगेपछि गुरुङमा पदको दुरुपयोग गर्नुपर्छ भन्ने मान्यता देखियो। 

उनै गुरुङ सदस्य रहेको क्याबिनेटले उपप्राध्यापक प्रेमप्रसाद चलाउनेमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने निर्णय लियो। 

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय भएको हो। तर सर्वोच्च अदालतले असार ७ गते चलाउनेमाथि भएको आक्रमणको घटनाको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएको थियो।​ सर्वोच्चको आदेशसँगै सरकारको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनमा रोक लागेको छ।

त्यसैगरी मन्त्री गुरुङले जेलमा रहेका आफ्ना नेता अफ्ताव आलमसहितका नेताहरूलाई उन्मुक्ति दिने गरी कानुन ल्याएका छन्। मन्त्री हुनुपूर्व उनै गुरुङले हत्या, बलात्कार, भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई विकृतिको थलो बनाइरहेको बताएका थिए।

गुरुङमाथि न्यायालयलाई बन्धक बनाएको आरोप समेत लाग्ने गरेको छ। लामो समयदेखि रिक्त रहेका न्यायाधीश नियुक्तिमा चासो नेदखाएको आरोप उनीमाथि छ। पछिल्लो विवरणअनुसार सर्वोच्च अदालतमा सात, उच्च अदालतमा ५४ र जिल्ला अदालतमा समेत ४० गरी १०१ बढी न्यायाधीश पद रिक्त छन् तर रिक्त पदमा नियुक्ति नहुँदा समग्र न्यायालय नै बन्धक बन्ने अवस्था छ। ​

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि विवादमुक्त बन्न सकेनन्। असार अन्तिम साता स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयले खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीको सरुवा फिर्ता नहुने बताउँदै बरु आत्महत्याका लागि डोरी दिन सकिने तर सरुवा फिर्ता गर्न नसकिने अभिव्यक्ति दिएका थिए। 

उनले भनेका थिए, ‘उहाँले केही गर्न पर्‍यो, आत्महत्या गर्छु भन्नुभयो (सचिवको भनाइ)। उसो भए डोरी लग्दिनुस् भनेँ मैले। डोरी लग्दिनुस्, सचिवज्यूहरूकोमा झुण्डिन अप्ठ्यारो लाग्यो भने मन्त्रीज्यूको गेटमा गएर झुण्डिनुस् भन्दिनू भनेँ मैले। उहाँले (सचिव)ले त्यो भनेपछि खुरुक्क उठेर हिँड्नुभयो।’ 

यस्तै उद्योगमन्त्री रमेश रिजाल पनि विवादमुक्त हुन सकेनन्। उनी राष्ट्रियसभामा आफैँले पेस गरेको विधेयकका कारण मजाकको पात्र बने। गत असार २८ गते राष्ट्रियसभामा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुँदा मन्त्री रिजालले विधेयकको व्यवस्था नबुझी अर्कै विषयमा धारणा राखेका थिए।

गत असार १२ गते आफैंले संसद् सचिवालयमा दर्ता गरेको विद्युतीय व्यापारसम्बन्धी विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री रिजालले विद्युत् बिक्रीसम्बन्धी व्याख्या गरेका थिए। मन्त्री रिजालले आफूले कुन विधेयक ल्याएको छु भन्ने हेक्का राखेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.