|

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको दाबी गरेका छन्। 

सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेमा विचार हुन आवश्यक रहेको बताए।

उनले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्रकर्मीहरुको भविष्य उज्ज्वल नरहेको बताए। उनले आफू पद र जागिर खानका लागि मात्रै चलचित्र विकास बोर्डमा नआएको र चलचित्रसम्बन्धी ऐन एक महिनामै पास गर्छु भनेर कोही आए आफू राजीनामा दिन तयार रहेको बताए।

उनले भने, ‘नेपाली चलचित्र क्षेत्रको विकासका लागि, राष्ट्रिय चलचित्र क्षेत्रको विकासका लागि विकास बोर्डको गठन भएको हो। कहाँनेर आएर विकास बोर्डले आफ्नो भुमिका गुमायो यसबारेमा चिन्तन हुनु पर्छ। खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो‚ यसलाई पुनः फिर्ता ल्याउनेबारेमा सोच्नुपर्छ। कसरी सञ्चार मन्त्रालयमा बोर्डको सबै अधिकार गयो? बोर्ड स्वायत्त बनाउनका लागि म लड्नेछु। तबसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्रकर्मीहरुको भविष्य उज्ज्वल छैन, जबसम्म बोर्ड स्वायत्त हुँदैन। बोर्ड स्वायत्त बनाउन नै म बोर्डमा आएको हुँ। विगत ४० वर्षअघिदेखिको ऐन अहिलेसम्म किन पास भएको छैन? म पदका लागि होइन, चलचित्रकर्मीका लागि हुँ। म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन। यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै राजीनामा दिन तयार छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.