|

रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।

रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।

उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले  बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानलाई दूधको पैसा भुक्तानी गरेको छैन भने जनी डेरीले समेत ३ महिनादेखि दूधको पैसा भुक्तानी नगरेका कारण किसान मारमा परेका छन्।

जिल्लाका दुग्ध उत्पादक सहकारीहरूको प्रारम्भिक तथ्यांकअनुसार रौतहट जिल्लाभर उत्पादन हुने दूधको खपत र विक्री केही महिनायता ओरालो लागिरहेको छ।

रौतहट जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष अधिकारीका अनुसार आर्थिक मन्दीका कारण सर्वसाधारणले दूध तथा दुग्धजन्य उत्पादनको प्रयोग र खरिदमा कम गरेसँगै दूधको कारोबार घटेको बताए।

दैनिक दूधको आन्तरिक खपत तथा बाह्य बिक्री व्यापक रूपमा घट्दा विदेशबाट फर्केर व्यावसायिक पशुपालन गर्ने किसानहरू बढी चिन्तित बन्दै गएका छन्।

केही समयदेखि आफूहरूले डेरीमा बेचेको दूधको मूल्य समेत नपाएको सन्तपुरका किसान राजन तिमल्सिनाले बताए।

जिल्लामा उत्पादन भएको दूध डेरी तथा स्थानीय बजारमा खपत हुँदै आएकोमा पछिल्लो समय आएर कारोवारमा गिरावट आएको छ।

चन्द्रनिगाहपुरमा रहेको बास्तोला डेरीका सञ्चालक रोहित बास्तोलाका अनुसार पहिलाको तुलनामा डेरीजन्य बस्तुको कारोवारमा कमी आएको बताए। रौतहट जिल्लामा ४६ वटा सहकारीले दूध बेच्दै आएका छन्।

जिल्लामा सबैभन्दा धेरै दूध संकलन गर्दै आएको साना किसान कृषि सहकारी संस्थानका अध्यक्ष ध्रुव कोइरालाले डिडिसीले समयमा दूधको पैसा भुक्तानी नगरेका कारण किसानलाई दाना किन्ने पैसा दिन समेत समस्या भएको बताए।

डेरीले एक त समयमा पैसा नदिने र वेला वेलामा दूध नै नलिने गरेका कारण आफूहरू मारमा परेको दूध किसान नरहरि सापकोटाको भनाइ छ। पछिल्लो समय आएर आफूले उत्पादन गरेको दूध बजारमा विक्री वितरण गर्न समस्या भएको सात वर्षदेखि पशु पालन गर्दै आएका रौतहटका सदस्य देवेन्द्र पटेलको भनाइ रहेको छ।

पछिल्लो केही महिनादेखि दूध विक्री गर्न समस्या भएको पटेलको भनाइ छ। पटेलले मात्र दैनिक ५० लिटरको हाराहारीमा दूध उत्पादन गर्दै आएका छन्।

सीमावर्ती क्षेत्रका बजार गौर, बंकुल, राजपुर लगायतका स्थानमा भारतीय कृषकले भारतबाट दूध ल्याएर बेच्ने गरेको हुँदा समेत रौतहटमा उत्पादन भएको दूधले बजार नपाएको उनीहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.