|

काठमाडौँ : केही दिनदेखि घाँटी खसखस गर्ने, टाउको दुख्ने, धेरै हाछ्यु आउने भएपछि नुवाकोटका ६३ वर्षीय उद्धव थापा शुक्रबार वीर अस्पतालमा जचाउन आए।

चिकित्सकले उनलाई प्रदूषित हावाले गर्दा यस्तो समस्या भएको हुनाले घर बाहिर निस्कँदा मास्क लगाउनैपर्ने सुझाव सहित केही औषधि दिएर पठाए।

तारकेश्वर नगरपालिकाका ४५ वर्षीय मोहन निरौला पनि आँखा पोल्ने र आँसु धेरै आउने अनि अत्यधिक टाउको दुख्ने जस्ता समस्या बढेपछि अस्पताल पुगे। उनलाई पनि चिकित्सकले केही दिन सकभर घरबाहिर नहिँड्न सुझाव दिएर केही औषधि थमाइदिए।

यी प्रतिनिधि उदाहरण मात्रै हुन् पछिल्लो केही दिनयता मानिसहरू यस्तै खाले समस्या लिएर अस्पताल पुग्ने संख्या बढ्दो छ। यसको प्रमुख कारण हामीले फेर्ने प्रदूषित हावा रहेको विज्ञहरूको भनाइ छ।

एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा पहिलो, दोस्रो र तेस्रो स्थानमा परिरहेको छ। यो समाचार तयार पारिरहँदा काठमाडौं विश्वको प्रदूषित शहरको दोस्रो स्थानमै छ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विभिन्न तथ्यांकले बताइरहेका छन्। पछिल्लो समयमा नसर्ने रोग पनि प्रकोपकै रूपमा देखिन थालेका छन्, जसले गर्दा नसर्ने रोगका कारण हुने मृत्युदरको प्रमुख कारण पछिल्ला वर्षहरूमा वायु प्रदूषण पनि एक रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण हेर्ने हो भने हाल नेपालमा वायु प्रदूषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७ प्रतिशत रहेको छ भने मुटुरोगबाट ३४ प्रतिशत, फोक्सो क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको छ।

वायु प्रदूषणले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी साथै गर्भावस्थाका महिला  बढी प्रभावित हुने बताउँछन् चिकित्सक शेरबहादुर पुन। उनले भने‚ ‘वायु प्रदूषण बढ्दा कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता तत्काल देखिने स्वास्थ्य समस्या हो भने दीर्घकालीन रूपमा नसर्ने ठूला रोगहरूको पनि प्रमुख कारक तत्त्व बन्न सक्छ। त्यसैले वायु प्रदूषण रोक्नु नै उत्तम उपाय हो।’

बढ्दो वायु प्रदूषण, बढ्दो तापक्रम, अत्यधिक वर्षा तथा बाढी पहिरोजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा मानव स्वास्थ्यमा असर परिरहेको छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक तापक्रम र वायु प्रदूषणले मानव स्वास्थ्यमा सुषुप्त महामारीकै रूप सिर्जना गरिरहेको बताउँछन् जनस्वास्थ्य तथा वातावरणविद् डा. मेघनाथ धिमाल।

‘तत्कालीन रूपमा यसले आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या त देखिन्छ नै दीर्घकालीन रूपमा नसर्ने रोगहरूको कारक तत्त्व बन्ने मात्रै होइन मानिसको प्रजनन क्षमतामा असर गरिरहेको हुन्छ’‚ डा. धिमालले भने।

नेपालमा हालसम्म बढ्दो तापक्रमले प्रजनन क्षमतामा कति असर गरिरहेको छ भन्ने आधिकारिक अध्ययन सरकारी तहबाट नगरिए पनि बढ्दै गएको वायु प्रदूषण र तापक्रमले समयअगावै बच्चा जन्मने, उच्च तापक्रमले पुरुषहरुको शुक्रकीट उत्पादनमा असर गर्ने जस्ता प्रजनन क्षमतामा समेत असर गर्ने विज्ञहरूले बताउँदै आएका छन्।

पछिल्लो एक/दुई वर्षयता फागुन, चैत, वैशाख र जेठ महिनामा काठमाडौँ लगायतका नेपालमा शहरमा अत्यधिक वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकले देखाएको छ। यसको प्रमुख कारण भनेको उच्च गर्मी हुने यस मौसममा ठूला वनजंगलमा हुने आगलागी भएको बताइन्छ।

यो अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आर्द्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारीसाधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको बताइएको छ। जसले गर्दा केही दिनयता काठमाडौँ उपत्यका सहित देशका ठूला शहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‍

भू-उपग्रहको तथ्यांक विश्लेषणको विवरणअनुसार सन् २०२४ को सुरुवातदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ। पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालका अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ।

सयौँ किलोमिटर टाढा रहेका वनजंगलमा लागेको डेढेलोले नै काठमाडौँमा कसरी प्रदूषण बढ्यो छ भन्ने प्रश्नमा वातावरणविद् डा. धिमाल भन्छन्‚ ‘वायु मण्डलमा हावा माथितिर बहन्छ त्यसले गर्दा तराईमा लाग्ने ठूला आगलागीबाट निस्केको हावा पहाडी भेगमा आइपुग्छ र प्रदूण बढ्छ। अहिले काठमाडौं उपत्यकामा बढेको प्रदूषणको कारण भनेको यहाँको आन्तरिक क्रियाकलापभन्दा पनि आसपासका जंगलमा लाग्ने ठूला आगलागीदेखि तराईगमा उड्ने धुलो सहित आगलागी नै हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.