|

विराटनगर : ‘हामी मेलापात, पाहुना जाँदा धान नाचेर रात कटाउथ्यौँ।’ ७२ वर्षीय मेरा बुवाले आफ्नो तन्नेरी उमेरको किस्सा खुब सुनाउँथे। संखुवासभा जिल्लाको चैनपुरमा जन्नेमका बा मिश्रित समुदायमा हुर्के।

राई, आर्र्य समुदाय, नेवार समुदायको बीचमा बाल्यकाल बितेकाले पनि होला आफ्नो भाषा लिम्बू भाषा बोल्न सक्दैनन्। तर, धान नाच अर्थात लिम्बू संस्कृतिसँग जोडिएको मौलिक नाचमा भने बढो चाख लाग्ने गरेको अनुभव सुनाउने गर्देथे। वारिपारिको गाँउमा (चैनपुरको केही स्थानमा लिम्बू समुदायको बाहुल्यता छ) पाहुना जाँदा होस् या आफ्नो छिमेकमा पाहुना आँउदा पालमको सुरमा धान नाच्दा रात कटाएका यादहरु अझै उनको मानसपटलमा क्यानभास झैँ कोरिएका छन्।

बाकै भनाइअनुसार, नाता, सम्बन्धलाई ख्यालमा राख्दै धाननाचको पवित्रतालाई साक्षि राखेर साइनो नलाग्ने सोल्टिनीहरुसँग धान नाच्नु लिम्बू समुदायको पराम्परागत मौलिकतामा पनि अनुशासन झल्किन्थ्यो।

त्यो समय साइनो भित्र बाँधिएको घेरा, आत्मीयता, सम्बन्धको मिठास र पवित्रता आजको मितिसम्म आइपुग्दा दन्त्य कथाझैँ लाग्ने गुनासोका चाङहरु पनि उनीभित्र उत्तिकै भेटिन्थे। चाउरिएको गाला। कपास झैँ फूलेको सेताम्मे कपाल, हातमा उही परम्परागत सालको पातमा बेरेको सूर्ती तान्दै उनी सुनाउँछन्,‘अहिलेको तन्नेरीहरु क्यासेटको गीतमा नाच्छन्, उनीहरुलाई धान नाच र पालमको महत्व नै थाहा छैन, हामीले सुनाएको कुरा त अब कथा जस्तै हुन्छ।’

यता, अहिलेको पुस्ता अर्थात् पाँचथरका सन्देश लिम्बू पालम गाएर धान नाचेको किस्साहरु आफूसँग नभएको बताउछन्। तर, मेलाहाट र बिहे भोजहरुमा आफूभन्दा ठूलाहरुले धान नाच्ने र उनीहरुले गाउँने पालममा खुब मिठास पाउने अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘म आफैँ चाहिँ चरणबद्ध पालाम गाएर धान त नाचिन, यसो नेपाली गीत गाएर सोल्टिनीको हात समाएर रेलासम्म चाहिँ गरियो।’ उनी संचारकर्मीसमेत हुन् उनी रेडियो नेपाल धनकुटामा कार्यरत छन्। पछिल्लो समय लिम्बुवान क्षेत्रमा लाग्ने विभिन्न मेलाहरुमा धान नाँच प्रतियोगिताहरु पनि राखिने गरेको र यसले केहि हदसम्म सक्कली धान नाच अथवा खलामै चाचिने धान नाचको झल्को दिने गरेको अनुभूति भएको उनी सुनाउँछन्।

‘पहिले पहिले एकापसमा निमन्त्रणा गरागर गरेर निश्चित ठाउँमा भेटि सामूहिक रूपमा धान नाच्ने प्रचलन थियो। त्यो चलन चाँहि अहिले हरायो। मेरो जिल्ला पान्थरतिर त्यसरी भेटेर धान नाचिने प्रशस्तै खलाहरु थिए। उनले भने,‘अब अहिले विश्वमा चलिरहेको प्रतिश्पर्धा, भूमण्डलीयकरण, पश्चिमा संस्कृतिको प्रभाव, राज्यको अनुदार साँस्कृतिक नीति जस्ता कारणले धान नाच खलाबाट हरायो। तर, सचेत संस्कृतिकर्मीले समयानुकुल यसको संरक्षणका प्रयास गरिरहेकै छन्।’

लेखक एवम् कवि चन्द्रवीर तुम्वापो आफूले धान नाचेको भएपनि सम्झनै पर्ने खालको किस्सा नभएको बताउँछन्। रेडियोमा बज्ने गीतहरुसँगै पुरानो संस्कृतिमाथि असर पर्न थालेको उनी बताउँछन्।

‘जब रेडियो नेपाल आइपुग्यो।रेडियो नेपालबाट गीतहरु बज्न थाल्यो तब पुरानो संस्कृतिमाथि असर पर्न थालेको देखिन्छ।पछिबाट गाउँगाउँमा क्यासेटको आगमन सँगै धान नाच पालामहरु विस्थापित भयो।’ उनी भन्छन्,‘नयाँ लिम्बू युवा,युवतीहरुमा पालाम भन्दा धेरै नेपाली गीत,संगीतमा आकर्षण बढ्न थाल्यो। धान नाचको सट्टा कम्मर हल्लाउन थाले। पालाम जान्ने युवाहरुको खडेरी चल्न थाल्यो।समग्रमा नयाँ संस्कृति सँग मुकाबिला गर्न पर्थ्यो, त्यो भएन।’ धान नाचको मौलिकतालाई संरक्षण गर्नु सांस्कृतिक पुनर्जागरण चलाउनुपर्नेमा उनले जोड दिए।

लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय धान नाच पछिल्लो समय पुस्तालाई हस्तान्तरण हुन नसक्दा र प्रविधिसँगै आधुनिकिकरणसँग प्रतिस्पर्धा गर्न नसक्दा संकटमा पर्दै गएको लिम्बू समुदायकै अगुवाहरु बताउँछन्। गाउँगाउँमा लिम्बू समुदायमा हुने विवाह, सुख–दु:खका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाच नाचिने प्रचलन छ। धान नाचमा साइनो सम्बन्ध औँल्याएर साइनो नपर्ने युवायुवती धान नाचमा समोल हुन्छन्। भने, वृद्धवृद्धा पनि उत्तिकै नाचमा सरिक हुन्छन्। तर, पछिल्लो समय मौलिकता लोप हुँदै गएको  छ।

धान नाचको महत्व

धान नाच कृषिसँग सम्बन्धित रहेको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लावती बताउछन्। उनको अनुसार मुन्धुमअनुसार दुई किसिमबाट धान नाचलाई बुझ्दै आएको छ। धान झार्ने  र अर्को स्थानीय किंवदन्तीअनुसार एउटा गाउँमा खडेरी परेको थियो र मानिसहरू भोकले मरिरहेका थिए। त्यसपछि एउटा चराले खैया प्रकारको धानको केही बीउ ल्याई गाउँलेलाई खेती गर्न दिएको भन्ने भनाइ छ। त्यही चराले ल्याएको विउ मान्डेले छ¥यो र बिउ छर्ने समय चराले मान्छेसँग  छरेको बिउ उम्रेपछि आफूहरूले खान आँउदा धपाउन नपाउने वाचा बन्धन गरेको किंवबन्दी रहेको लावती बताउँछन्।

‘चराले विजन ल्यायो रे त्यो विजन मान्छेले छर्‍यो रे छर्दा चराले बाचा बन्धन गरेको थियो रे तिमिहरु विजन छर तर हामी पछि आउँदा हामीलाई खेद्न पाउँदैनौ ’उसले भन्यो ,‘ धान उम्रेपछि चरा भगाउन जुक्ति निकालिएको भन्ने छ, त्यसै सन्दर्भमा चरा भगाउनलाई हाहा… भन्यो भन्ने छ।’ तर यो भनाई आफ्नो व्यक्तिगत बुझाईमा बलिायो नभएको तर्क लावतीको छ।

‘मैले सुनेको धान नाच्दा पालम भन्दा हाहा… भन्ने मात्रै थिएन पाँचथरको तल्लो पाटोमा हाहा.. थियो, पाँचथरभन्दा माथिल्लो भेगमा लामो लय तान्ने चलन थियो हाहा.. सँग मात्रै जोडे चरा खेदेको दह्रो भनाइ हो  जस्तो लाग्दैन मेरो बुझार्यमा तर कृषिसँग सम्बन्धित छ। ’ उनले भने, ‘ धान र कोदोको खेती गर्न थाल्यो गोरु नार्ने चलन रहेनछ ओल्लो घर, पल्लो घरका युवायुवती जम्मा भएर माड्ने चलन रहेछ पछिपछि पहुना बोलाउदा पनि माड्न थाल्यो होला, माड्न थालेपछि यसलाई धान नाचमा विकास भएको भन्ने मेरो विचार हो।’

उनी थप्छन्,‘कृषिसँग पनि किन सम्बन्धित छ भने याराक्मा भन्छौ, याराक्मा भनेको य र ल एउटै हो ठाउ अनुसार प्रयोग हुन्छ। लिम्बू भाषामा यारा भनेको धान लाराक्मा भनेको माड्नु हो हाम्रो भाषामा ल र य एउटै हो । धानबाट धान नाच विकसित भएको हो।’

पछिल्लो पुस्ताले धान नाचको पवित्रता बुझेन

लिम्बू समुदायसँग जोडिएको मौलिक सांस्कृतिक नाच धान नाचलाई संरक्षण गर्न नसकिएको लावती बताउँछन्। पछिल्लो पुस्ताका युवायुवतीले धाननाचको पवित्रता बुझ्न नसकेको बताउँदै उनले धान नाचको मर्यादा नै याद नगरेको गुनासो गरे।

‘पछिल्लो पुस्ता हाम्रोभन्दा दोश्रो पुस्ताका युवायुवतीहरुले धान नचको पवित्रता भुल्या मर्यादा भुल्यो , जे मन लाग्यो त्यही गाउने धान नाच के हो मर्यादा के हो याद गर्न छोड्यो,’ उनले भने,‘ पाँचथरको युवा मेलामा तीन वर्ष रातभर बसेर मुल्यांकन गरका छौँ। पछिल्लो समय द्धन्द्ध कालमा माओवादीले रातीराती मान्छे जम्मा हुन नदिएकाले पनि बन्द भएको भन्ने पनि भनाई छ।’ पछिल्लो समय लिम्बू समुदायकैले धान नाचको महत्व नबुझेको उनी बताउँछन्।

धान नाचको पनि विधि हुन्छ

लावतीको भनाइअनुसार धान नाचको पनि विधि हुन्छ। ‘गाँउमा पाहुना आँउदा केटी आयो भने जसको घरमा पाहुना भएका छन् त्यहाँ युवायुवती छन भने आफैँ साथीहरु जान्छन। उनीहरुले याद गरेन भने बुढापाकाले नै साथीहरु बोलाउने चलन छ। पाहुनालाई स्वागत गर्न केटी पाहुना छन भने केटा, केटा छ भने केटी खोज्ने चलन छ, दुईजना नै छन् भने दुवैजना खोज्नुपर्छ।’ उनले भने,‘चेलीमाइती छ भने धान नाच्न मिल्दैन। केटा र केटी पाहुना आएको छ भने गाउँलेहरुलाई बोलाएर केटाहरु उभाएको ठाएमा पाहुना केटीहरु उठाएर लग्ने केटीहरु उभिएको ठाउँमा गाउँले माइतीहरुले केटा लगेर धान नाच्ने चलन छ।’

पालमभन्दा अन्य समय मेलामा भाका गरेर पनि धान नाच्ने चलन छ। त्यसमा केटाले पहिला पालम सुरु गर्छ। तर, पाहुना आँउदा केटा आए पनि केटी आए पनि गाउँलेले नै पालम सुरु गर्ने चलन रहेको उनको भनाइ छ।

‘पाहुनालाई हाम्रो गाउँमा आउनुभयो तपाईहरुलाई स्वागत छ भन्छन्, पहिले चिनजान छ भने पहिले हामीले धान नाचेर बिसाएको मायालाई फेरी सम्झेर हामी धान नाच्छौँ भन्छन्, चिनजान छैन भने भेट हुँदाचिनजान गर्दै धान नाचौ भन्छन्, विचार के  छ रु तपाई के गर्नु हुन्छ रु भन्ने प्रश्न राख्ने चलन थियो। अहिले धान नाचमा हलिएको। मात्रै देख्छु, रोटी जस्तो घुमेको मात्रै देख्छु। धान नाच्दा हाम्रो कदम हुन्थ्यो ताम्राङगे, किक्रिप्पा यस्तो खालेको थियो ताम्राङगे लिम्बू भाषाबाट हो नेपालीमा भन्दा लाईनमा तश्रो उभिएर नाच्नुपर्ने थियो। अगाडी पछाडी खुट्टासारेर नाच्नुपर्ने थियो।’

धान नाच्दा केही गरेर केटाले वा केटीले खुट्टाले छोयो भने लाइनबाट बाहिर निस्किएर भूईसोरी नमस्कार गरेर माफी माग्नुपर्ने चलन रहेको उनले बताए।

 माइती चेली थिएन बीचमा धान नाच्नुपर्ने भयो भने केटाले हामी धान नाचौँ भन्दा केटीले अनाकानी गर्दा केटीको हातको पन्जामा या पछेउरीको छेउमा तानेर धान नाच्ने चलन रहेको उनको भनाइ थियो।

यो सबै धान नाचभित्र सम्बन्धको मर्यादा रहेको बताउँदै उनले भेट्दा नमस्ते गर्ने छुट्दा नमस्ते गर्ने चलन रहेको बताउँदै उनले भने, ‘धान नाच्दा पनि अनुशासन छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.