|
सांकेतिक तस्विर

काठमाडौं : बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी शनिबार काठमाडौंमा शुरु हुँदैछ। केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको गोष्ठी बिहान ११ बजे शुरु हुनेछ। 

कार्यक्रममा नेपाल र भारतका प्रधानन्यायाधीशले सम्बोधन गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। कार्यक्रम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। कार्यक्रममा सहभागी हुन भारतका प्रधानन्यायाधीश डा. डी वाई चन्द्रचुद आइसकेका छन्। 

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको निमन्त्रणामा चन्द्रचुदसहितको भ्रमण दल हिजो साँझ औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको हो। भारतीय प्रधानन्यायाधीश चन्द्रचुदले नेपालका समकक्षी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग शनिबार नै साँझ मैत्रीपूर्ण भेट गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता उप्रेतीले जानकारी दिए। 

प्रधानन्यायाधीश श्रेष्ठले समकक्षीको सम्मानमा साँझ रात्रिभोजको समेत आयोजना गर्ने प्रवक्ता उप्रेतीले जानकारी दिए। भारतीय प्रधानन्यायाधीश चन्द्रचुदको भ्रमण दलमा उहाँकी पत्नी कल्पना दास, भारतीय सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा छन्। भारतीय प्रधानन्यायाधीश नेतृत्वको भ्रमण दल आइतबार साँझ स्वदेश फर्किने सर्वोच्च अदालतले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.