|
फाइल तस्वीर

काठमाडौं : पोखरेली कलाकार प्रकाश घिमिरे आज (बुधवार) अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।

यही कात्तिक १० गते बिहान भिरबाट लडेर घाइते भएका उनी मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारपछि आज डिस्चार्ज भएका हुन्। पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर करिब ५० मिटर तल खोँचमा खसेर घाइते भएका थिए।

घिमिरेको टाउको, छाती र ढाडमा चोट लागेको छ। अस्पताल श्रोतका अनुसार उनलाई एक साताको फरकमा स्वास्थ्य परीक्षण गराउन आउने सुझाव उनको उपचारमा संलग्न चिकित्सकले दिएको छन्। 

घिमिरेलाई न्युरो सर्जरी आईसीयूमा राखेर उपचार गरिएको थियो। न्युरो सर्जरी आईसीयूकी स्टाफ नर्स सुषमा पौडेलका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आएपछि ४ दिनअघि मात्र न्युरो सर्जरी वार्डमा पठाइएको थियो।

स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको छ।

निर्देशक तथा कलाकार अनुप बरालले २ साताको उपचारपछि घिमिरे कुराकानी गर्न र कुनै सहारा लिएर विस्तारै अलिअलि हिँडडुल गर्न सक्ने भएको बताए।

नदिपुरस्थित कन्या माविमा लामो समय अध्यापनपछि २०७५ सालमा अवकाश लिएका उनी कला क्षेत्रमा सक्रिय भएका थिए।

नाटकबाट अभिनय शुरु गरेका उनले अहिलेसम्म ३५ भन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले अनुप बराल निर्देशित ‘मलामी’‚ ‘न्यायप्रेमी’, ‘काफ्का’, ‘थाङ्गला’, ‘जात सोध्नु जोगीको’, ‘अटलबहादुरको आतंक’‚ ‘ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन’, ‘आस्थामा उठेका हातहरु’, ‘क्रिया नाम सर्वनाम विशेषण’, ‘सिरुमारानी’‚ ‘जिउँदो अवशेष’ लगायत अनेकौँ चर्चित नाटकमा अभिनय कौशल देखाइसकेका छन्।

नाटकमा मात्र सीमित नभएर नवीन सुब्बा निर्देशित टेलिसिरियल ‘दलन’बाट उनको फिल्मी करियरको शुरुवात भएको थियो।

यसपछि उनले ‘घामपानी’‚ ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘पञ्चेबाजा’, ‘पानीफोटो’‚ ‘भष्मे डन’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.