|

काठमाडौँ : फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ। प्रदर्शनअघि बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा खेलाडीदेखि कलाकार र राजनीतिक दलका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

सो क्रममा उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरू विस्थापित भएको कुरालाई देखाइएको बताइन्। उनले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको प्रतिक्रिया दिइन्।

देशमा भ्रष्टाचार व्याप्त भएपछि युवाहरूमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कलाकार हरिवंश आचार्यले बताए। उनले आगामी चुनावका लागि यो फिल्म जनचेतनाको कोर्सबुक हुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फिल्म धेरै उत्कृष्ट र सबैले हेर्नुपर्ने किसिमको रहेको बताए। फिल्मले अहिलेको मुलुकको अवस्थालाई चित्रित गरेको उनले बताए। 

अभिनेता खगेन्द्र लामिछानेले समाजमै भएका कथाहरू जोडेर फिल्म बनाउने भएकाले समाजका राम्रा र नराम्रा कुराहरूलाई फिल्ममा उठाइएको बताए। अर्का अभिनेता निश्चल बस्नेतले फिल्ममा सबै कलाकारहरूले आफ्नो उत्कृष्टता पस्किएको उल्लेख गरे। अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्म रुचाएको प्रतिक्रिया दिइन्।

फिल्मको प्रदर्शन आज शुरु भएको छ। आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्कालगायत कलाकारको अभिनय रहेको छ।

आकाश बरालको लेखन र सुशन प्रजापतीको छायाङ्कन रहेको फिल्मलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.