|

बुटवल : नेपाल चलचित्र विकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार अनुगमन गरेको छ।

बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीसहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका फिल्म हलहरुको अनुगमन तथा मोफसलमा फिल्म व्यापारको अवस्थाबारे अन्तरक्रिया गरियो।

विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमा हल मर्कामा परेको बताउँदै बोर्ड सदस्य एवम् प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउन बोर्ड लागिपरेको बताए। 

विशेष गरि मोफसलका हलमा दर्शक ल्याउने गरि आफ्नो पहल सधैँ जारी रहने प्रतिबद्धता उनले गरे। चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्वअध्यक्ष सुमन श्रेष्ठले विगतदेखि नै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। 

श्रेष्ठले बुटवललगायत काठमाडौं बाहिरका शहरमा पनि सुविधासम्पन्न र स्तरीय फिल्म हल थपिने क्रम बढेको बताउँदै फिल्मको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे। 

समग्र फिल्म क्षेत्रको विकासले पर्यटन विकासलाई समेत टेवा पुर्‍याउने बताउँदै न्यौपानेले सरकारले यसको लागि विशेष पहल गर्नुपर्ने बताए। 

संघका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि लगानी गर्न विकास बोर्डसँग आग्रह गरे। 

निरीक्षणका क्रममा बुटवल भाटभटेनीमा रहेको क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमाज बुटवलका सञ्चालक प्रेमप्रकाश श्रेष्ठ तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्रनारायण श्रेष्ठले आफ्ना समस्याबारे फिल्म पत्रकार र बोर्डलाई जानकारी गराएका थिए।

उनीहरुले समग्र चलचित्र क्षेत्रको विकासका लागि आफूहरु समन्वय गर्न हरदम तयार रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.