|

काठमाडौँ : भोलिदेखि सुरु हुने पाँच दिने तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेस्टिबल)को सबै तयारी पूरा भएको छ। 
    

कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए। नेपाल कला परिषद्‍मा भोलि महोत्सव उद्घाटन हुनेछ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले महोत्सव उद्घाटन गर्दैछन्।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मा, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन्। 

सहभागी गराइएको तीन  सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ। अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म चल्नेछ। 

उद्घाटनपछि परिषद्‍मा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्षसमेत रहेका महोत्सव संयोजक गुरुङले बताए।

महोत्सवबारे आज पत्रकारलाई जानकारी दिँदै संयोजक गुरुङले कला पारखीलाई भोलिदेखि हुने कार्यक्रममा सहभागिताका लागि अनुरोध पनि गरेका छन्।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यस्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने समाजका महासचिव दिपेन्द्रमान बनेपालीले बताए।

यसपाली कलाकारलाई सम्मान तथा पुरस्कारकोसमेत व्यवस्था गरिएको छ। साथै लाइफटाइम अचिभमेन्ट अवार्डबाट एक जना अग्रज कलाकारलाई सम्मान गरिने छ।

यसखालको कार्यक्रममा नेपाली कलाकारले विदेशको र विदेशका कलाकारले नेपालको कला सिर्जनासम्बन्धी प्रविधि तथा ज्ञान चिन्न र जान्न सकिने समाजका सदस्य डिबी राईले बताए। 

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्र जलरङबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पुर्‍याउन पस्किन पाइने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको समाजका वरिष्ठ उपाध्यक्ष दिराम पापलालीले बताए। 

यसअघि समाजले महोत्सवकैरुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.