|

गौर : नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम मदिरा विक्री हुने गरेको छ। नेपाल सरकारले निषेधित गरेको सीमाभित्र रक्सी विक्री वितरण भइरहेको छ।

दशगजा क्षेत्रदेखि ५ सय मिटरभित्र रक्सी पसल सञ्चालनमा रोक लगाइए पनि स्थानीय प्रशासनको कमजोरीका कारण सीमाक्षेत्रमा दर्जनौँ रक्सीका पसल सञ्चालन भइरहेका छन्। जिल्लाको राजदेवी नगरपालिका–९ ब्रह्मपुरी‚ वडा नम्बर ८ लक्ष्मीपुर बेलविच्छवा, गौर नगरपालिका–२ महादेवपट्टी, ईशनाथ नगरपालिकाका बन्जरहा, मठिया, लतमरी तथा परोहा नगरपालिकाको खापस्थित सीमाक्षेत्रमा १ सय मिटरभित्रै रक्सीपसल सञ्चालनमा छन्।

भारतको बिहार राज्यमा रक्सी किनबेचमा रोक लगाइएपछि सीमामा खोलिएका भट्टीमा भारतीय नागरिकको घुइँचो लाग्ने गरेको स्थानीय बासिन्दाले बताए।

दशगजासँगै टाँसिएको ईशनाथ नगरपालिका–१ बन्जरहा नाकामा २ सय मिटरभित्र करिब २० भन्दा बढी भट्टी सञ्चालनमा छन्। सीमामा सशस्त्र प्रहरीको चेक प्वाइन्ट थपिए पनि रक्सी खान आउने भारतीय नागरिकको समूहले अबेर रातिसम्म रक्सी पिउने र झ्याप भएर भारततर्फ जाने गरेको स्थानीयले जानकारी दिए।

स्थानीयका अनुसार सीमाक्षेत्रमा खोलिएका रक्सी पसलको अनुगमन गर्न सरोकारवाला अधिकारी लगायत कोही आएका छैनन्।

सीमाक्षेत्रमा चलाइएका भट्टीका कारण आपराधिक क्रियाकलाप बढ्दै गएकाले सरकारले रोक लगाइएको ५ सय मिटरभित्र पर्ने मदिरा पसल समयमै अनुगमन गरी बन्द गराउनुपर्ने स्थानीयको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.