|

धनगढी : जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. रवि यादवको काज फिर्ता गरिएको छ। हिजो (आइतबार) यादवको काज फिर्ताको पत्र आएको हो।

अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका यादवको हाजिर भएको ३ महिना पनि नपुग्दै काज फिर्ता गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादवको काज फिर्ता गरिएको जनाएको छ।

यादव असोज २ गतेमात्रै अछाम अस्पतालमा हाजिर भएका थिए। तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा यादवसहितका संघका चिकित्सकहरूलाई पुल दरबन्दीमा ल्याएका थिए।

उनीहरू अस्पतालभित्रको राजनीतिक दबाव र किचलोका कारण टिक्न सकिरहेका छैनन्। अछाम अस्पतालका मेसु यादवको पनि राजनीतिक दबावकै कारण काज फिर्ता भएको बताइएको छ। अस्पतालका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेकपा (माओवादी) केन्द्रका नेता शिव बोगटीले भनसुन गराएर मन्त्रालयमार्फत यादवको काज फिर्ता गराएको आरोप लागेको छ।

बोगटीले हालै नयाँ कर्मचारी भर्नाका क्रममा आफ्ना दल र निकटका मान्छेलाई जागिर लगाउन खोज्दा डा. यादवले रोकेपछि टकराव सुरु भएर काज फिर्तासम्म पुगेको बताइन्छ। आफूले बेथिति रोक्न खोज्दा काज फिर्तामा परेको यादवको भनाइ छ।

अध्यक्ष बोगटीले भने यादवको कार्यशैलीमाथि प्रश्न उठाउँदै त्यसकै फलस्वरूप काज फिर्ता भएको दाबी गरे। उनले अस्पतालमा हाकिम भएर बस्नेभन्दा बिरामी जाँच्ने चिकित्सक चाहिएको भन्दै काज फिर्ता गराइएको जनाए।​

यसैगरी हालै यादव मेसु रहेकै वेला अछाम जिल्ला अस्पताललाई सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले कार्यसम्पादनका प्रदेशकै पहिलो समेत घोषित गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.