|
फाइल तस्वीर ।

विराटनगर : माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हविगत खासै टिठलाग्दो देखेनन्। प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन)ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन्।

त्यसो त सरकारी जागिर त्यसमा पनि नेपाल प्रहरी परिवारका लागि सधैँ गर्वको विषय थियो।

परिवारको जिम्मेवारी बढ्दै गएपछि विदेशिने सपना देख्न सुरु गरे। बढ्दो महँगीसँगै आर्थिक जिम्मेवारीले पनि उनी जागिर छोडेर विदेशिने योजनामा थिए। त्यसै क्रममा रूस उनको सुखद भविष्यको सपना पूरा गर्ने गन्तव्य बन्यो।

११ वर्षे लामो प्रहरीको जागिर त्यागेर उनी रूसी सेनामा भर्ती हुन ५ महिनाअघि पुगेका रहेछन्। केही दिनअघि सामाजिक सञ्जालमार्फत उनले रहरभन्दा पनि बाध्यताले विदेशिनु परेको बताएका थिए। नेपालमा कामको मूल्यांकनभन्दा पनि परिवारको समस्याले जस्तोसुकै जोखिम पनि मोल्न बाध्य हुनुपर्ने उनको भनाइ थियो।

‘नेपालको जागिरमा चुनौती धेरै छ, अवसर कम छ’, उनले भने, ‘मूल्यांकन कामको भन्दा पनि परिवारको भरथेगको हुने रहेछ। अवसरको खोजीमा थिएँ, रूस गन्तव्य बन्यो।’ रूस–युक्रेन युद्धको भुमरीमा रुमलिन पुगेका उनी मात्रै छैनन्।

उनी जस्तै नेपालबाट अवसरको खोजी गर्दै रूसी माटोमा ज्यान बाजी लगाउनेको संख्या थुप्रै रहेको उनले सुनाए। सामान्य परिवारका हरेक नेपालीको सपना विदेशिएपछि लाखभन्दा माथि कमाउने हुन्छ।

महिनामा लाखभन्दा बढी कमाउने सपना लिएर रूसी सेनामा भर्ना भएका राईले आफ्नो जीवन भयावह हुन्छ भन्ने कल्पना पनि नगरेको बताए। सोचेभन्दा धेरै अप्ठ्यारो रहेको उनको भनाइ थियो। युवाहरूलाई नेपालकै माटोमा बस्ने र काम गर्ने वातावरण बनाउन राज्यले चासो दिनुपर्नेमा उनले जोड दिए।

उमेश (नाम परिवर्तन) पनि नेपाल प्रहरीका जवान हुन्। नेपालको जागिरले परिवारको भरथेगमा सकस भएपछि अवसरको खोजीमा भौतारिएका उनी ६ महिनाअघि रूसी सेनामा भर्ती हुन पुगे। लाखभन्दा बढी तलब पाउने अपेक्षासहित रूस उडेका उनी अहिले नेपाल फर्किने बाटो खोज्दै छन्। केही वर्ष रूसी सेनामा काम गर्ने र त्यसपछि नेपाल फर्किने उनको सपना थियो।

आर्थिक पाटो बलियो बनाउने सपना र सुन्दर भविष्यको परिकल्पनासहित रूस उडान भरेका उनी अहिले नेपाल फर्किएर परिवारसँग जीवन बिताउन पाऊँ भन्ने भगवानसँग प्रार्थना गर्न बाहेक केही नभएको सुनाउँछन्। उनीसँग पनि केही समय सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत कुरा भएको थियो।  

यता स–सानो कुराले विभागमा ठूलो समस्या निम्तिने प्रहरीकै अधिकृतहरू बताउँछन्। सुरक्षा सेवामा आबद्ध भए पनि बढुवा, सरुवा कहिले हुन्छ भन्ने अपेक्षा हुने र सरुवा हुँदा पनि कस्तो ठाउँमा अवसर मिल्छ भन्ने र आफूले राम्रो काम गर्दा पनि पछि पारिने हुँदा यस्तो अवस्थामा नैराश्य छाउने उनीहरूको बुझाइ छ।

‘एकजनाको कमाइले सबै परिवार आश्रित हुने हुँदा सबैलाई पुग्ने भए सकारात्मक ऊर्जा मिल्छ तर खर्च नपुग्ने भए हौसला मर्छ’, ती अधिकृतले भने, ‘माथिल्लो तहको हाकिमले तल्लो तहकालाई व्यवहारमा राम्रो गरिदियोस् भन्ने हुन्छ। त्यो नहुँदा उनीहरूमा एकखाले निराशा छाउँछ, बिदा लगायतका कुरामा पनि समयमा नहुँदा नैराश्य पैदा हुन्छ।’

विभागमा जसको शक्ति उसैको भक्ति भएको र पैसा कमाउने, बढुवा खाने पनि हाकिम नै हुने हुँदा बताउने उनले भने, ‘अवसर पाए हामी नै अन्य क्षेत्रमा पलायन हुन्छौँ, तल्लो तहका कर्मचारी त यसै पनि सम्भावनाको खोजी गरिहाल्छन् नि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.