|

काठमाडौँ : प्रमुख दलहरूले विकासे बहस गर्न थालेका छन्। सत्ता र शक्तिका लागि मात्रै केन्द्रित भएको आरोप लागिरहेका बेला प्रतिपक्षी दलले सरकारलाई विकासे बहसका लागि अपिल गरेका छन्।  

प्रधानमन्त्री नै भइसकेका ठूला दलका शीर्ष नेताहरू राजनीतिक आरोप प्रत्यारोपमै रमाउन थालेको भन्दै दलहरूप्रति आम निराशा चुलिएको छ। 

यही बीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १८ दिन लामो मध्य पहाडी लोक मार्गको यात्रा सम्पन्न गरेर त्यसक्षेत्रको विकास र समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराएको थियो। 

मध्य पहाडी लोकमार्ग नेपालको पूर्व–पश्चिम जोड्ने राजमार्ग हो। १ हजार ८७९ किलोमिटर लम्बाइ रहेको यस राजमार्गलाई पुष्पलाल मार्ग नामले पनि चिनिन्छ। राजमार्गले पूर्वको पाँचथर (चिवाभञ्ज्याङ)बाट पश्चिमको बैतडी (झुलाघाट)सम्मका बस्तीलाई जोडेको छ। 

यही मध्य पहाडी लोकमार्गमा एमालेले मङ्सिर १४ गते झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेर पुस २ गते सकेको थियो। 

रास्वपाको नयाँ स्वरुपको आन्दोलन अभ्यास

एमालेको मध्य पहाडी यात्रा सकिएको एक सातामै संसद्‍को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटबलसम्मको सडकखण्डमा तीन दिन लामो पैदल यात्रा गरेर सरकार र पुराना दललाई नयाँ चुनौती पेश गरेको छ। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप पैदलयात्रा गरेको हो। 

२०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो।

सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा हुन लाग्दासमेत आधा काम सकिएको छैन।

कोरोना संक्रमण र कोरोना महामारीकै कारण सीमा नाका बन्द हुँदा निर्माण सामग्री आउन नसकेर काम रोकिएको बताउने निर्माण कम्पनीले अहिले आगामी पुस मसान्तसम्ममा सक्ने गरी काम गरिरहेको छ।

तर ११३ किलोमिटरको यात्रा सकेपछि रास्वपाका सभापति रवि लामिछानेले काम गराइको अवस्था हेर्दा थपिएको समयमा पनि सकिने छाँट नदेखिएको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। 

बुधबार साँझ बुटवल पुगेर यात्रा समापन भएको घोषणा गर्दै सभापति लामिछानेले यसरी वर्षौसम्म सडक नबनाएर जनतालाई धुलो खुवाउनेहरुलाई आगामी चुनावबाट जनताले धुलो चटाउने चेतावनी दिएका छन्।

‘हामी पार्टीको झण्डासमेत नबोकी आम नागरिक भएर हिँडेका हौँ। बाटो बनाउन दबाब दिएका हौँ। यसलाई नै कसैले राजनीति गरेको भन्छ भने यस्तो राजनीति हामी गरिरहन्छौँ’, उनले भने, ‘कुनै पनि हालतमा समय निर्धारण गरेर गुणस्तरीय रुपमा बाटो बन्छ भने ठिक छ। यदि बाटो नबनाएर जनतालाई धूलो खुवाइरहने हो भने अब जनताले पनि तपाईंहरुलाई धूलो चटाउने छन्।’  

प्रधानमन्त्री प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित 

प्रतिपक्षी दलले मध्य पहाडी र पूर्व–पश्चिम राजमार्गको निर्माण समयमै सम्पन्न गर्न दबाब बढाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका काममा केन्द्रित भएका छन्। 

चालू आर्थिक वर्षको बजेटमा पनि ठूलो रकम आफ्नै निर्वाचन क्षेत्रमा खनाएको आरोप खेपेका उनले देशको भन्दा आफ्नो चुनाव क्षेत्रको विकासका लागि लागेको उनको आजकै अभिव्यक्तिले पनि पुष्टि गरेको छ।    

प्रधानमन्त्री भएको एक वर्ष पुगेको भोलिपल्टै  निर्वाचित क्षेत्रमा पुगेका प्रचण्डले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ताकुकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यस पालिकाका अध्यक्ष (विष्णु भट्ट)जीले पहिले पनि चुनाव जित्नुभएको अहिले पनि जित्नुभयो। उहाँले यहाँको विकास निर्माणका काममा अस्ति बालुवाटार गएर त हामीले जिताएर प्रधानमन्त्री बनाउने अनि यति पनि काम नगर्ने ? अब त जनतासँग फेस गर्नै नसकिने भयो भनेर मलाई राम्रैसँग चिमोठ्नुभयो।'

 प्रधानमन्त्री प्रचण्डले अगाडि थपे, 'उहाँले सबैभन्दा धेरै भन्नुभएको घ्याम्पेसाल–सौरपानी बाटोको काम ठेकेदारले गरेको छैन। किन भने ५० लाख मात्र छ। कम्तीमा ५ करोड नभए म पनि यतै बस्नुपर्छ भने पछि म केही दिन अघि आउन नसक्ने अवस्था भयो। अनि अहिले म ५ करोडको व्यवस्था गरेर आएको छु।’

त्यति मात्र होइन प्रधानमन्त्री प्रचण्डले चुनावका बेला आफू र अहिलेका मुख्यमन्त्रीले धुलो बाटो बाँकी नराख्ने भनेको नबिर्सेको सुनाए। ‘हामीले टाइम लिएको त पाँच वर्ष हो। एकै वर्षमा धुले बाटोलाई पीच गरिन्छ भनेको त होइन तर पाँच वर्षमा मुख्य मुख्य बाटोलाई पीच बनाउने भनेको बिर्सेको छैन।’

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले डोढेनी, सौरपानी, भण्डारीगाउँ सडकलाई बहुवर्षियमा लाने, आरुपोखरी, देउराली, टाकुकोट, चनौटे, जौबारीवाला बाटोलाई पनि बहुवर्षियमा लाने निश्चित गरेर स्रोत सुनिश्चितता गरिएको योजना सुनाए।  

त्यति मात्र होइन उनले चनौटे, जौबारी, आरुघाटको स्रोत सुनिश्चित भएको र स्रोत सुनिश्चितता गरिसकिएको बताए। ‘यति कुरा सुनाउन पाउने भएपछि मलाई बारपाक सुलिकोट जान कसैले रोक्न सक्दैन भनेर म आएको हुँ।’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

मध्य पहाडी यात्रा एमालेले उछिन्यो: माधव नेपाल
  
एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले भने आफूले बनाएको योजनामा एमालेले ओभरल्याप गरेको आरोप लगाएका छन्। 

यसअघि आफ्नो पार्टीको मेचीदेखि महाकाली अभियानका क्रममा घोषणा गरेको मध्य पहाडी यात्रामा एमाले पहिल्यै गएर राम्रो कामको अनुशरण गरेको भन्दै कटाक्ष गरेका छन्। 

उनले बुधबार काठमाडौँमा सुरु भएको पार्टी केन्द्री कमिटी बैठकमा भने, ‘हामीले मेचीदेखि महाकाली अभियान चलायौँ र हामी भन्दै थियौँ की मध्य पहाडी भागमा जान्छौँ भनेको त अरुले उछिनिहालेछ। ठिकै छ राम्रो कुराको कसैले अनुश्ररण गर्छन् भने नकारात्मकरुपमा लिनुपर्ने आवश्यकता छैन।’

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले एमालेको सो अभियानतर्फ लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकल नेताको संज्ञा दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.