कर्मचारी नै ओसार्छन् लागुऔषध

|

धनगढी : अछामस्थित जिल्ला कारागारमा त्यहाँका सुरक्षाकर्मीसहित कर्मचारीको बेथिति बढेकोबढ्यै भएको पाइएको छ। जेलर र सुरक्षाकर्मीसहितको सेटिङमा कारागारभित्रै लागुऔषध लैजानेदेखि गैरकानुनी रुपमा कैदीलाई घुमाउन लैजानेसम्मका बेथिति मौलाएका हुन्।

स्रोतका अनुसार अघिल्लो महिना (मंसिर) ७ गतेका दिन अछाम कारागारका निमित्त जेलर जीवन शाही र तत्कालीन सुरक्षाकर्मीका इन्चार्ज असई रविन्द्र कलौनीसहितले कानुनको धज्जी उडाउँदै कैदीलाई बाजुरा भिजिटमा लगेको खुलेको छ।

जेलर शाही र असई कलौनीले गैरकानुनी रुपमा अछाम कारागारभित्र लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका जेलका चौकीदार नरेश अवस्थीलाई बाजुरा लगेर घुमाई, रमाइलो र मोजमस्ती गराएर ल्याएको आरोप लागेको हो।

आरोपमात्र होइन, जेलर शाहीसँग जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शरदकुमार पोखरेलले स्पष्टीकरण नै मागेका थिए भने असईलाई विभागीय कारबाही गरिएको छ।

सिडिओ पोखरेलले सो घटनामा जेलर शाहीलाई कारबाही नगरेर सचेतमात्र गराइएको र सुरक्षाकर्मीका इन्चार्ज कलौनीसहितलाई सरुवा कारबाही गरिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय अछामले पनि अछाम कारागारको सुरक्षा नेतृत्व र केही अन्य प्रहरी कर्मचारीको जिम्मेवार हेरफेर गरिएको जनाएको छ।

मंसिर ७ गते अछाम कारागारमा कैदी रहेका आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादीद्वय खगेन्द्रराज गिरी र सुरत चौधरीलाई बकपत्रका लागि बाजुरा जिल्ला अदालत लगिएको थियो। 

उनीहरूसँगै चौकीदार अवस्थीलाई पनि घुस लिएर जेलरसहितले गैरकानुनी रुपमा बाजुरा लगेपछि लफडा निम्तिएको हो।

बेथिति पनि कति हुन् कति

यतिमात्र होइन, जेलर शाहीकै संरक्षणमा अछाम जेलभित्र धेरै बेथिति मौलाएका छन अहिले पनि जेलमा कारागार नियमावली २०२० को धज्जी उड्ने गरि क्रियाकलाप भैरहेको बताइन्छ।

नियमावलीअनुसार कारागार बन्दीगृहभित्रका कैदीबन्दीहरुलाई दिइने सिदा तथा लुगा खर्च कारागार प्रशासक तथा कर्मचारीले अनिवार्य रुपमा सबै बन्दीहरुलाई सबैले देख्ने गरि आफैंले वितरण गर्नुपर्ने व्यवस्था छ। तर अछाममा भने चौकीदार नरेश अवस्थीकै हालिमुहाली रहेको आरोप लागेको छ।

स्रोतका अनुसार जेलरले अवस्थीलाई आफ्नै निवासको कोठामा बोलाएर भरपाई बुझाउने गरेको र उनीनसँगै भरपाई बुझ्ने गरेको अन्य कैदीबन्दीहरुको गुनासो रहेको छ। 

यस सम्बन्धमा अन्य कैदीहरुले विरोध गरे उनीहरुलाई जतिवेला पनि अर्को कारागारमा सरुवा (स्थानान्तरण) गरिदिन्छु भन्दै जेलरले धम्की दिनेसमेत गरेका छन्।

यतिमात्र होइन, जेलर र चौकीदारले सिडिओ र विभागमा आफ्नै मान्छे भएको भन्दै धम्क्याउने गरेको र केही बन्दीहरुसँग यो विषय बाहिर नलैजान भन्दै दाँया बाँया सहिछाप गराई कागजसमेत गराएको बुझिएको छ।

यसका अलावा जेलभित्र सेटिङमा मेस (भान्सा), क्यान्टिन, सैलुन, क्याराम बोर्ड गेम, किराना पसल, बाँसका मुढा बुन्ने लगायतका काम संचालन गरेको र अवैध सामान बेचविखन तथा गतिविधि गर्ने गरेको बताइन्छ।

तर कारागार प्रमुखले यति बिघ्न निजामति कर्मचारीको आचारसंहिता उल्लंघन तथा कारागार ऐन नियमावलीविपरीतको काम गर्दा पनि उनलाई कसैले कारबाही गर्न सकेको छैन।

यता जेलर शाहीले भने आफूले नियमविपरीत काम नगरेको र राम्रो काम गर्दा आफ्नो खुट्टा तान्न थालिएको दाबी गरेका छन्।

कारागारभित्रै ड्रग्स

​अछाम कारागारभित्र लागुऔषधको ओसारपसार पनि हुने गरेको पाइएको छ। अस्तिमात्र जिल्ला कारागारमा मासुभित्र लागुऔषध ओसारपसार गर्ने एक जना पक्राउ परेका छन्।

जिल्लाको कमलबजार नगरपालिका–३ का जनक बडुवाल लागुऔषधसहित मंगलवार राति पक्राउ परेका हुन्। उनी जिल्ला कारागारका सफाइ कर्मचारी हुन्।

उनको साथबाट ७४० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउदले बताए।

यसअघि पनि जिल्ला कारागार अछाममा लागुऔषधको ओसारपसार हुने गरेको विषय बाहिर आएको थियो। अहिले पनि निरन्तर कारागारमा अवैध गतिविधि चलिरहेको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.