|

धनगढी : कैलाली प्रहरीले ‘कुख्यात’ अपराधी भनेका धनगढीका शेख मुनिर अहमद थुनामुक्त भएका छन्। सरकारी वकिल कार्यालयको पत्रपछि मुनिर केही दिन अगाडि थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार अहिले मुनिरको मुद्दामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। हाललाई मुनिरलाई बाहिरै राखेर अनुसन्धान गर्न भन्दै सरकारी वकिलको कार्यालयले भनेपछि सोहीबमोजिम अनुसन्धान भइरहेको चन्दले बताए।

केही समय अगाडि लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालय कैलालीमा अचानक फेला परेपछि समातिएका थिए। त्यसबेला मुनिरलाई सार्वजनिक मुद्दा चलाएर अनुसन्धान थालिएको थियो।

 त्यो बेला मुनिरमाथि एक जनाको गाडी कब्जा गरेको मुद्दा पनि चलाइएको थियो। त्यति मात्र होइन उनले अनेकौँ ठगी गरेको भनिएकाले सार्वजनिक रूपमै प्रहरीले जाहेरी आह्वान गरेको थियो। तर प्रहरीले एउटा पनि जाहेरी नआएको जनाएको छ। 

त्यसपछि मुनिरको अहिले अर्को कैफियत फेला परेको बताइएको छ। प्रहरीले मुनिरसँग २ नागरिकता रहेको भन्दै सो मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। सो नागरिकता किर्ते मुद्दामा पनि मुनिर हाजिरी जमानीमा रहेको र अनुसन्धानका जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले अहिले मुनिरको नागरिकता किर्ते मुद्दाको (अर्कैको नागरिकतामा मुनिरले आफ्नो तस्विर राखेको) अभिलेख हेर्ने काम र थप बुझ्न विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौंबाट वकिल लिएर आएका मुनिर पावर लगाएर छुटेका हुन्। अहिले उनी कैलालीमा नरहेको स्रोतको दाबी छ। यस्तै अनुसन्धानकै क्रममा मुनिरको घरमा गोली पनि भेटिएको थियो तर त्यो गोली लाइसेन्सवाला प्रमाणित भएको बताइन्छ।

मुनिरविरुद्ध दर्जनौँ आरोपहरु छन्। उनीविरुद्ध कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइन्छ। उनी नेपाली काँग्रेसका कार्यकर्तासमेत हुन्। केही वर्ष अगाडि अपहरणको आरोपमा विरगञ्जबाट फरार भएर खाली हात आएका मुनिरले धनगढी आएपछि मात्रै करोडौंको सम्पत्ति जोडेको देखिजान्नेहरुको दाबी छ। केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.