|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेको बताए। उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको बताए। उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे।

उनले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए।

उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे।

उनले भने, ‘खासगरी बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्नेकुराहरुमा हामी पछाडि परेका छौँ। नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्दछ। नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरुको आदानप्रदानले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको छ। विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको छ। यसमा विलम्व नगरीकन परियोजनाहरुको छनोट, तिनको शिघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ।'

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई फाराकिलो बनाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.