|

काठमाडौं  : महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् ।

देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन्  । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गरे ।

सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गरे । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताए । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णत: शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजलप्रेमीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।

नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेका भन्दै ओझाले नेपाली गजललेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गरे ।

महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गरे ।

सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताए । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुुपर्ने उनको भनाइ थियो ।

प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रशन्नता जनाए । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गरे ।

कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो ।

हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट 'विपीन'ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । गजल युट्युब च्यानल गोल्डेन क्रियसनबाट पनि सार्वजनिक गरिएको छ ।

लिङ्क :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.