|

पर्वत : पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा ‘धनिरामको गोरु’ मञ्चन हुने भएको छ।

१० दिनमा १२ वटा ‘सो’ मञ्चन हुने तथा प्रत्येक दिन बेलुका पाँच बजे नाटक मञ्चन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले बताइन। उनका अनुसार शनिवार एक बजे पनि नाटक मञ्चन गरिने छ। ‘धनिरामको गोरु’ हाम्रै समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको सबुको भनाइ छ। पोखरामा नाटक मञ्चनलाई बढवा दिने उद्देश्यले  स्वरूप आफू र आफ्नो टिम अगाडि बढेको उनले उल्लेख गरिन ।

नाटककार केदारनाथ पौडेलले ‘धनिरामको गोरु’ विशुद्ध नेपाली कथामा आधारित भएको उल्लेख गरे।

उनले भने, ‘धनिरामको गोरु आफ्नोपनको कथा हो। ग्रामीण समाज र त्यहाँको किसानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो।’ नाटकमा किसानका पीडा र उनीहरूको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको छ। समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ। पछिल्लो समयमा विकास भइरहेको प्रविधि र त्यो प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटक मार्फत उठाउन खोजिएको छ। प्रविधिको प्रयोग राम्रोसँग नगर्दा के कस्ता समस्या हुन्छन् भन्ने विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए।

एक घण्टा १५ मिनेटको नाटक ‘धनिरामको गोरु’ हेर्नका लागि तीन सय, पाँच सय र एक हजार रुपैयाँको टिकट दर निर्धारण गरिएको छ। विद्यार्थीलाई भने दुई सय रुपैयाँ तोकिएको छ।

नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भूमिकामा छन्। नाटकमा विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइने छ। पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन्।

२०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मञ्चन गर्न लागेको हो। नाट्य विधा मार्फत समाजको मौलिकतालाई जोगाइराख्न पद्माप्रेम थिएटर निर्माण भएको हो। एक दशक देखि मिडिया, शिक्षा क्षेत्र र रङ्गमञ्चमा चासो राखी सक्रिय रहेका महिलाहरूको संलग्नतामा पद्माप्रेम थिएटरको स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.