|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताएकी छिन्।

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताएकी हुन्। उनले विधेयकमा ट्रेड युनियन सम्बन्धी व्यवस्था नगरिएको भन्दै फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताइन्। उनले कर्मचारीको विषयमा छलफल गर्न सकिने भएपनि कर्मचारीको काम, कर्तव्य र अधिकारमा ट्रेड युनियनको अधिकार दिनु नहुने बताइन्।

बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद विद्या भट्टराईले ट्रेड युनियन अधिकार संविधानले प्रदान गरेको अधिकार भएको बताइन्। उनले ट्रेड युनियन अधिकार नहुँदा कर्मचारीहरूले आफ्नो पीडा र समस्या राख्ने ठाउँ नहुने भन्दै कर्मचारीहरूको अधिकारलाई हनन गर्नु नहुने जिकिर गरिन्। कर्मचारीहरूको नागरिक अधिकारको हनन गर्नु नहुने पनि उनको भनाइ छ।

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद महेश बर्तौलाले सुरक्षण मुद्रणमा काम गर्न कर्मचारीहरूको छुट्टै संयन्त्र बनाउनुपर्ने बताए। सुरक्षण मुद्रणको विषय राष्ट्रको गौरवसँग जोडिने भन्दै उनले यसमा गोपनीयता र विश्वसनीयता कायम गर्न कर्मचारीको छुट्टै संयन्त्र गर्नु आवश्यक भएको उनको भनाइ छ।

उनले कर्मचारीको विशेष संयन्त्र बनाउँदा कर्मचारीहरूको बद्मासी र मनपरी पनि हुनसक्ने भन्दै त्यसतर्फ पनि कानून बनाउँदा विचार पुर्‍याउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.