नेपाल र भारतका ४ टिम सहभागी हुने

|

ललितपुर : गोरखा पोलब्रेकर्स संघ नेपालको आयोजनामा पर्सि आइतवार चौथो अन्तरराष्ट्रिय पोलब्रेक च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।

बिहीवार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा वैशाख ३० गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा चौथो संस्करणको पोलब्रेकको प्रतियोगिता हुने भएको छ। 

नेपाल र भारतका ४ टिमको सहभागिता रहने प्रतियोगिता नकआउटका आधारमा खेलाइने संघका अध्यक्ष उद्धवनारायण श्रेष्ठले जानकारी दिए।

कुल ६ लाख २० हजार रुपैयाँको बजेटमा आयोजना गर्न लागिएको प्रतियोगिताका विजेता र उपविजेता टिमले ट्रफि र प्रमाणपत्र पाउनेछन्।

नेपालमा धेरै खेल खेलिंदै आए पनि नेपाली माटोमा आफ्नै अन्तरराष्ट्रिय स्तरको नियममा खेल गराउने लक्ष्यसहित पोलब्रेक खेल २०७४ देखि खेलाउन थालिएको संघका अध्यक्ष श्रेष्ठले बताए। 

यो खेल फुटबल र फुटसल जस्तै देखिन्छ तर पोल ढलाएवापत बास्केटबलको जस्तै पोइन्ट पाउने गरिन्छ।

५ मिटर लम्बाइ १५ मिटर चौडाइको मैदानमा दुवै टिममा ३–३ खेलाडीले खेल्छन् । मैदानमा राखिएको पोललाई ढालेवापत अंक पाउने गर्छन्।

पहिलो हाफमा २५ मिनेट र दोस्रो हाफमा २५ मिनेट गरी ५० मिनेटको खेल हुनेछ।

एक टिममा ७ जनासम्म खेलाडी हुने र उनीहरु गेमको जुनसुकै वेला पनि मैदान छिर्न पाउने र फेरि निस्कन पाउने नियम खेलमा छ। 

यस खेलको सम्पूर्ण नियम, बल तथा पोलको संरचना, ढाँचा, तौल तथा डिजाइन सबै आफैँले तयार गरेर खेलाउन शुरु गरिएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले हाल विभिन्न जिल्लामा शाखाको गठनसमेत गरिसकेको र अन्तरराष्ट्रिय स्तरमा छिमेकी राष्ट्र भारतको पुणेमा सन् २०२३ मा गोरखा पोलब्रेकर्स एसोसिएसन भारतको रूपमा दर्ता भएको समेत जानकारी दिए।

संघले नेपाल र भारतमा विभिन्न समयमा नकआउट तथा मैत्रीपूर्ण खेलको आयोजनासमेत गरिसकेको छ। नेपालका विभिन्न क्लब तथा विद्यालयमा समेत खेलाउँदै आएको छ।

भविष्यमा यस खेलबाट नेपालको पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यसमेत रहेको संघका अध्यक्ष श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.