|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेपछि उल्लेख्य सुधार भएको दाबी गर्दै आएका छन्। तर चालु आर्थिक वर्षको ६ महिनामा स्वास्थ्य सेवातर्फ खासै सुधार नभएको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘अर्ध वार्षिक कार्यप्रगति नतिजा’मा स्वास्थ्य मन्त्रालयमा मुस्किलले ३६ प्रतिशत कार्यप्रगति  देखिएको छ।

स्वास्थ्य मन्त्रालयले यो ६ महिनामा उपलब्धि हासिल गरेको मुख्य काममा आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकमा आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको, स्वदेशमा उत्पादन हुने आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधी तथा स्वास्थ्यजन्य सामग्रीको सूची तयार पारेको उल्लेख छ।

यस्तै विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्य अनुरूप यो अवधिमा विभिन्न सरकारी अस्पतालबाट अन्तरंगतर्फ २८६ वटा मुटुको, ३२४ वटा फोक्सोको, ७८८ वटा रक्तनलीको शल्यक्रिया तथा एक हजार ३९८ वटा क्याथ ल्याबमार्फत बिरामीको सेवा गरेको उल्लेख छ। 

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आवश्यक अत्याधुनिक ब्लड बैंक उपकरण खरीद गरी सेवा सञ्चालन प्रारम्भ भएको,ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, हरिवन, लालवन्दी, मलंगवा, ईश्वरपुर, परोहा, चन्द्रपुर, औरही रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको स्क्रिन टेष्टको लागि एचपीभी डीएनए टेष्टको सुरुवात गरेको देखाइएको छ।

यस्तै आयुर्वेद तथा योगको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्धन गर्दै नसर्ने रोग न्यूनीकरणका लागि नागरिक आरोग्य अभियान ७५ वटा स्थानीय तहमा सञ्चालन गरिएको, ७० वर्षमाथिका क्यान्सरपीडित जेष्ठ नागरिकलाई निःशुल्क रेडियसन र सर्जरी सेवा ४७ जना सेवा प्रवाह गरिएको विषय समेत मन्त्रालयको ६ महिने कार्यमा समेटिएको छ।

यस्तै सरकारले महत्त्वाकांक्षी तरिकाले अघि सारेको पाँच, १० र १५ शय्याका १०० आधारभूत अस्पतालका लागि औजार तथा उपकरण, रेडियो इमेजिङ उपकरणको आवश्यकता पहिचान तथा स्पेसिफिकेसन तयार गरी बोलपत्र स्वीकृत र खरिद सम्झौता गरेको विषयलाई समेत मन्त्रालयको उपलब्धिको रूपमा समेटेको छ।

स्वास्थ्य मन्त्रालयको कुल १९३ वटा माइलस्टोन्स संख्यामध्ये १२४ वटा चालु आर्थिक वर्षको  पुस मसान्तसम्म पुरा हुनु पर्ने थियो । तर यो ६ महिनामा  मन्त्रालयले ६९ वटा माइलस्टोन्स मात्रै सम्पन्न गरेको देखिन्छ।

यसले गर्दा अर्थ मन्त्रालयको रेकर्डमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्वास्थ्यको कार्य प्रगति ३५.७५ प्रतिशत मात्रै भएको उल्लेख छ।

आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ।

पर्याप्त बजेट नहुँदा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवातर्फ उल्लेख्य सुधार हुन नसकेको बताउँछन् मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल। ‘चालु आर्थिक वर्षमा स्वास्थ्य सेवातर्फ कम बजेट हुँदा लक्ष्यअनुरूपको उपलब्धि हासिल गर्न मुस्किल भइरहेको छ।’

सरकारले चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो।

स्वास्थ्य सेवामा प्रयाप्त बजेट नहुँदा हाल निमार्णाधीन स्थानीय तह आधारभूत अस्पतालहरुको निर्माण नै सुस्त भइरहेको छ। स्वास्थ्य मन्त्रालयका योजना महाशाखाका एक जना कर्मचारीले भने ‘यसपटक हामीलाई नियमित कार्यक्रमलाई निरन्तरता दिनै मुस्किल जस्तो भइरहेको छ।’

यस्तै हाल नयाँ आर्थिक वर्षका लागि योजना बनाउन प्रारम्भिक छलफल भइरहेको र अहिलेको अवस्था अर्को वर्षमा निम्तिन नदिनेतर्फ मन्त्रालय सचेत रहेको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख पौडेलले बताए।

सन् २०३० सम्ममा, विश्वव्यापी मातृ मृत्युदरलाई ७० (प्रत्येक १ लाख जीवित जन्ममा) भन्दा कम गर्ने, नवजात शिशुहरू र पाँच वर्षमुनिका बालबालिकाको मृत्युलाई अन्त्य गर्ने, एचआईभी एड्स, क्षयरोग, औलो ज्वरो र उपेक्षित रोगको महामारी अन्त्य गर्ने र हेपाटाइटिस, पानीजन्य रोगहरू एवं अन्य सरुवा रोग नियन्त्रण गर्ने कार्यक्रम अगाडि बढाएको मन्त्रालयको दाबी छ।

नसर्ने रोगबाट हुने असामयिक मृत्युदरलाई रोकथाम र उपचारबाट एक तिहाइले कम गर्नुका साथै मानिसक स्वास्थ्य तथा समृद्धि प्रवर्धन गर्ने, वातावरणीय प्रभाव रोकथाम गर्ने, लागुपदार्थ दुरुपयोग तथा मादक पदार्थको हानिकारक प्रयोगको रोकथाम तथा उपचार पद्धतिलाई सुदृढ तुल्याउने, सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेहरूको संख्यालाई घटाउने क्षेत्रमा पनि काम गरेको मन्त्रालयले जनाएको छ।  यस्तै यौन तथा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने  जस्ता परिणामात्मक लक्ष्यअघि सारिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.