|

काठमाडौं :  काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी तथा साझेदारी अस्पतालहरूबाट लक्षित वर्गले निःशुल्क उपचार सेवा लिन आग्रह गरेको छ।
महानगरपालिकाले उक्त सेवाको लागि अस्पतालहरूलाई कार्यान्वयनमा ल्याउन पत्राचार पनि गरिसकेको जनाएको छ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को ७० ९(घ) र काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण अस्पतालहरूले कुल शैयाको १० प्रतिशत शैया नेपालको जुनसुकै स्थानका लक्षित वर्गलाई अनिवार्य रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ।

उक्त व्यवस्थाबमोजिम ‘काठमाडौं महानगरपालिकाका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भई महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा साझेदारी अस्पताललाई फागुन १ देखि सो कार्यान्वयन गर्न पत्राचार भइसकेको छ। 

महानगरपालिकाका अनुसार अस्पतालहरूमा निःशुल्क शैया के कति रहे/नरहेको जानकारी (website: www.freehealth.kathmandu.gov.np) मा जानकारी लिन सकिनेछ।

यसरी लिन सकिन्छ सेवा

मानगरपालिकाका अनुसार गरिबी परिचयपत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिनेछ। यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्ने छ।

वडा कार्यालयवाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्ने छ। यस्तै, यदि बिरामीलाई उपचारको लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण इकाइमा सम्पर्क गर्न सकिनेछ।

बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने महानगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.