|

चन्द्रौटा : कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पाल बिदा सकिएपछि बुधवार कर्मथलो काठमाडौंको लागि महेन्द्रनगरबाट बस चढे। सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको रात्रि बसमा चढेका उनी सहितका सबै यात्रु मस्त निद्रामा रहेका थिए। 

करिब १ बजे बस एक्कासि हल्लिएपछि सबै यात्रुहरू चिच्याउन थाले। “एक्कासि ठूलो आवाज आयो त्यसपछि बसको बत्ती निभ्यो बस खोलामा खस्यो, पाल भन्छन्, “बस खोलामा खसेपछि सबै चिच्याउँदै रुँदै थिए, म उठ्न पटकपटक कोसिस गरेँ तर उठ्न सकिनँ मेरो ढाडमा बेस्सरी दुखिरहेको छ।” बस अनियन्त्रित गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने पालको भनाइ छ। उनी  जीवनको पहिलो अनुभव र आफूले दोस्रो जीवन पाएको बताउँछन्।

पेसाले मूर्तिकार रहेका कीर्तिपुरका अनिल ताण्डुकारले दुर्घटनाबाट नयाँ जीवन पाएको बताउँछन्। “आँखा अगाडि नै धेरैको ज्यान गयो,चाहेर पनि उद्धार गर्न सकिएन” अनिल भन्छन् “जीवनको पहिलो भोगाइ रह्यो,दुर्घटना भएको सुनेका थियौँ तर यो भोगाइले कसैलाई पनि यस्तो नपरोस्। क्याबिनकै सिटमा रहेका ताण्डुकारका अनुसार चालकले गेर चेन्ज गर्ने समयमा ठूलो आवाज आएको बताउँछन्। त्यसको केही समय पछि बस पल्टिएको उनको भनाइ छ।

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुलनजिकै बस दुर्घटनामा पाल र ताण्डुकारसहित ३० जना यात्रु घाइते अवस्थामा रहेका छन् भने १० जनाको घटना स्थलमै मृत्यु भएको छ। ज्यान जानेमा ७ जना पुरुष र ३ जना महिला छन्।

रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान, भिमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ।

भीमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ कञ्चनपुरकी २७ वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्ट,भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ बस्ने  सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमला देवी भट्ट ज्यान गएको हो।

घटना घनाजंगलमा रहेकोले सम्पर्क हुन नसक्दा उद्धारको लागि ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ। सशस्त्र प्रहरी भालुवाङ,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्कु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए।

घटनास्थल जोखिम ठाउँमा रहेकोले उद्धार समस्या रहेको उनको भनाइ छ। “उद्धारको क्रममा पहिलो प्राथमिकता छटपटाइ रहेका घाइतेलाई रोपको माध्यमबाट उद्धार गर्‍यौँ” केसीले भने “घटना स्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ। बसमा ब्रेकमा समस्या तथा चालक निदाएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.