|

म्याग्दी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ।

संघीय सरकारको समपूरक अनुदानमा धवलागिरि गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो। म्याग्दीका ६ वटा स्थानीय तहको ४५ वडामध्ये सडक यातायातको सुविधा नभएको वडा गुर्जामात्र हो।

पाँच वटा कोठा र एकतले भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री रहेको धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए।

भवन निर्माण गर्न १ करोड ३९ लाख ५९४ रुपैयाँमा ठेक्का लिएको पौडेल निर्माण सेवा बागलुङले १ करोड १७ लाख ३४ हजार ११७ रुपैयाँ भुक्तानी पाएको उनले बताए। 

बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधि भण्डारण, प्रसूति, प्रशासनका लागि छुट्टाछुट्टै कक्ष रहेका छन्। निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

“यसअघि कच्ची र जीर्ण भवनको साँघुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको थियो”, उनले भने, “नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई सहज भएको छ।”

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जामा २५० घरधुरी छन्। गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन जङ्गल र भिरको बाटोमा पैदलयात्रा गर्नुपर्छ।

धवलागिरि गाउँपालिकामा पछिल्लो एक वर्षयता २ करोड ७३ लाख रुपैयाँको लागतमा गुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ। 

हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ३९ लाख ७२ हजार ८१ रुपैयाँमा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुईतले सभाहलसहित नौकोठे भवन निर्माणमा पछिल्लोपटक ३७ लाख ५ हजार २०६ रुपैयाँ खर्च भएको छ।

थापा निर्माण सेवाले ठेक्का पाएको लुलाङ वडा कार्यालय भवन निर्माणमा ५७ लाख ५९ हजार ६९७ रुपैयाँ खर्च भएको सब-इन्जिनियर रावलले बताए। 

यसअघि ४७ लाख रुपैयाँ खर्च भएको ताकम वडा कार्यालयको भवनलाई पूर्णता दिन पछिल्लोपटक थप १४ लाख ५९ हजार ५९२ रुपैयाँ खर्च भएको छ।

लुलाङको वडा कार्यालय विसं २०७७ र अन्य तीन वटा भवन २०७८ मा निर्माण शुरु भएको थियो। 

घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा ५ शय्या क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधीन छन्।

सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.