|

पर्वत : प्रजातन्त्र दिवसको अवसर पारेर जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा उच्च रक्तचाप र मधुमेहको परीक्षण शिविर सञ्चालन गर्‍यो। निःशुल्क स्वास्थ्य शिविरमा ५९ जना महिला र एक सय १६ जना महिला गरी कुल एक सय ७५ जनाले स्वास्थ्य परीक्षण गराए। तीमध्येका ६१ जनामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ। जुन परीक्षणको लागि आएका मध्येका करिब ३५ प्रतिशत हुन्।

परीक्षण गरिएकामध्ये २२ जनामा उच्च मात्रामा मधुमेहको समस्या रहेको पाइएको छ। जुन स्वास्थ्य परीक्षण गरिएको कुल संख्याको झन्डै १३ प्रतिशत हो। पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला पहिलो पहिलो वा दोस्रो पटक परीक्षण गरिएकै भरमा देखिएको संख्यालाई यकिन मान्न नसकिने भए पनि पछिल्लो समय यस्ता खालका बिरामीहरूको संख्या बढ्दै गइरहेको बताउँछन्।

परीक्षणका लागि बोलाइएका ठाउँमा आउनेहरूले विश्रामविना नै परीक्षण गर्ने, शरीर र हातको ‘पोस्चर’ नमिल्ने, परीक्षण गर्ने व्यक्ति हताशमा रहने लगायतका कारण पहिलो पटकमा देखिएको नतिजालाई नै अन्तिम नतिजाको रूपमा हेर्न नमिल्ने भए पनि आधुनिक रहनसहन र जीवनशैलीका कारण पछिल्लो समय उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको संख्यामा वृद्धि हुँदै गइरहेको उनको भनाइ छ।

‘हामीकहाँ खानपानको शैलीमा कति परिवर्तन आएको छ। शरीरका लागि फाइदा नगर्ने चिल्लो पदार्थको प्रयोग, सन्तुलित आहारको व्यवस्थापन नगर्ने, पाएको कुरा एकै पटकमा धेरै खाने तर शारीरिक अभ्यास नगर्ने गर्दा उच्च रक्तचापका बिरामीहरू बढ्दै गएको अवस्था छ’, डा. बास्तोलाले भने, ‘भात खाएर होस वा वा अरू माध्यमबाट नै किन नहोस् शरीरमा चिनीको मात्रा खपत धेरै भइरहेको छ। शारीरिक अभ्यास गरेर त्यसलाई घटाउने वा हटाउनुपर्ने हो। तर आवश्यकता अनुसारको शारीरिक अभ्यास गरेको देखिँदैन।’

जिल्लामा विभिन्न स्थानमा आयोजना हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणको लागि पहिलो पटक आएकाहरूको तथ्याङ्कलाई पहिलो पटकमै आधार मान्न नसके पनि पर्वत अस्पतालमा आउने नियमित बिरामीहरूको संख्याले पनि नसर्ने तर दीर्घकालीन रोगहरूको अवस्था स्पष्ट हुने उनको भनाइ छ। नियमित स्वास्थ्य परीक्षणका लागि आउने तथा चिकित्सकको ‘प्रिस्क्रिप्सन’ अनुसार नियमित औषधि सेवन गर्नेहरूको संख्या धेरै रहेको डा. बास्तोलाले बताए।

१६/१७ वर्षको उमेरमा नै मधुमेह र उच्च रक्तचापले छोएका बिरामीहरूको संख्या बढ्दै गइरहेको विभिन्न ठाउँका स्वास्थ्य संस्थामा रहेको बिरामी परीक्षण सम्बन्धी तथ्याङ्कमा भेट्न सकिन्छ। जीवनयापनको शैलीमा आएको बेफाइदामूलक परिवर्तन आउनु अगाडि ४०/४५ वर्षको उमेर नजिकमा यस्ता रोगको समस्या देखिने गरेको भए पनि आजभोलि जुनसुकै उमेरमा पनि यसले समात्न थालेको छ। विगतमा गाउँ/सहरमा यदाकदा व्यक्तिलाई ‘ब्लड प्रेसर’, ‘डायबेटीज’ लगायतका समस्या रहेको सुन्ने गरिएको भए पनि अहिले घर घरमै यी बिरामी भेट्न समस्या छैन।  

‘व्यस्त जीवनशैलीको प्रभाव प्रत्यक्ष रूपमा स्वास्थ्यमा परिरहेको देखिन्छ। आरामको लागि सुतेको बेलामा पनि कामकै तनाव मान्छेले सम्झिरहेको छ। उठेपछि काममै दौडिने हतार। कुर्चीमा बस्यो, टन्न खायो, सवारीमा हिँड्यो। शरीरले तन्दुरुस्ती त पाउनै सकिरहेको छैन’, डा. बास्तोला थप्छन्, ‘हाम्रो जीवनशैली रोबोट वा कुनै मसिनको जस्तो एकोहोरो भएको छ। हरेक दिनको एउटै तालिका। यति धेरै दौडिन सक्ने मान्छेले आफू स्वस्थ हुनका लागि एक छिन शारीरिक अभ्यास गर्ने समय दिन भने सक्दैन फेरि।’

रगतमा ग्लुकोजको मात्रा बढी भएपछि आउने समस्या नै चिनी रोग भएको भन्दै उनले शरीरमा ग्लुकोजको मात्रा ठिक्क हुनुपर्ने सुझाउँछन्। ग्लुकोज प्याङ्क्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने र इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुने डा. बास्तोला बताउँछन्। इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्ने र रगतमा यसको मात्रा सन्तुलित र नियमित हुनुपर्ने भन्दै उनले इन्सुलिनको उत्पादन हुन छाडेपछि रगतमा चिनीको मात्रा बढ्न जानकारी दिए।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा नसर्ने रोगमा पर्ने उच्च रक्तचाप र मधुमेहको समस्या बढ्दै गएकाले सचेतनाका लागि नै कार्यक्रम गरिएको बताउँछन्। शिविरमा ज्येष्ठ नागरिक लाई बढी प्राथमिकता दिएकाले उच्च रक्तचाप र मधुमेह प्रभावितहरूको संख्या धेरै देखिएको हुन सक्ने भए पनि आजभोलि प्रौढ अवस्थामा नै यी रोगका बिरामीहरूको धेरै रहेको पाइएको उनले बताए।

मधुमेह र उच्च रक्तचाप लाग्ने कारण उस्तै–उस्तै हुन्। अधिकांश उच्च रक्तचापका बिरामीमा मधुमेह र मधुमेहका बिरामीमा उच्च रक्तचाप देखिने गरेको चिकित्सकहरू बताउँछन्। दुवै रोगको पूर्ण उपचार सम्भव नहुने भएकाले व्यक्तिले यसको नियन्त्रण ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। मधुमेह नियन्त्रण गर्न उच्च रक्तचाप नियन्त्रण गर्नुपर्ने भएकाले यी दुई रोगको आपसमा सम्बन्धित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.