|

काभ्रेपलाञ्चोक : राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेश गरेका छन्।

सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न  सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार १७३ जना भूमिहीन-सुकुम्बासी, भूमिहीन-दलित, अव्यवस्थित बसोवासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन्।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ। पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन-सुकुम्बासी, भूमिहीन-दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ । 

समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टीकरणको काम भइरहेको छ।
 
‘जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो’, लामाले भने। उनले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थाल्ने बताए। ‘रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टीकरण सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ’, सदस्य लामाले भने।

समितिका अनुसार जिल्लामा भूमिहीन-सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट शुरु गरिएको हो। जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरण कार्य थालिएको जनाइएको छ। जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरूप आयोगको मापदण्डअनुसार निस्सा दिने लामाले बताए।
 
जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागाईँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास शुरु गर्ने निर्णय गरिएको हो। समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास  छ।

 आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी १२६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार १७३ जना रहेको तथ्याङ्क छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेश गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.