|

बागलुङ : सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो। 

पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए। 

‘दुवैतर्फ डोजर लगाउँदा पनि पहिरो पन्छाउन कम्तीमा एक साता लाग्छ’, उनले भने, ‘ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराएको उनले बताए। 

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। भिरालो जमिन रहेको यो स्थानमा वेलावेला सुक्खा पहिरो गइरहन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.