|

गौर : लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन्।

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको ३ करोड रुपैयाँ दिएका छैनन्।

दूधको पैसा समयमा नआएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलनका कार्यक्रम तय गरेका छन्। रौतहटको गरुडाभन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दूध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरूले नतिरेपछि दुग्ध उत्पादक किसानहरू समस्यामा परेका हुन्। दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ।

त्यसैगरी दूध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइएको छ। यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरूले गर्ने रौतहट जिल्ला दूध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।

त्यति गर्दा पनि सुनुवाइ नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँस्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन्। रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहटमा उत्पादन भएको दूध हेटौंडास्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीले लाने गरेका छन्।

दूध बेचेको पैसा समयमा डेरीहरूले भुक्तानी नगरेका कारण रौतहटमा दूध उत्पादनमा सक्रिय किसानले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन्। विगत ६ महिनादेखि दूध विक्री गरेको पैसा नपाएपछि व्यावसायिक रूपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन समस्या भएपछि उनीहरूले आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन्।

६ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरूले समयमा किसानले उत्पादन गरेको दूध समेत खरिद नगर्दा किसानहरू दूध फाल्न बाध्य भएको उनीहरूको गुनासो छ। दूध बेचेको पैसा समयमा नआउँदा पशुपालन गर्दै आएका रौतहटका किसान मारमा परेका छन्।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.