|

काठमाडौँ : नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को थालनी भएको छ। 

मुलुकको सङ्घीयताअनुरुप सातै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको सुरुवात गरेको हो। कर्णाली प्रदेशको सुर्खेतबाट आज सुरु भएको उक्त प्रदर्शनी बागमतीमा आएर आगामी चैत १६ गते सकिने छ।

सातै प्रदेशमा विभिन्न मितिमा झण्डै एक महिनासम्म प्रादेशिक प्रदर्शनी हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली काफ्लेले जानकारी दिए। उनले अन्य प्रदेशका प्रदर्शनीको पनि तयारी लगभग पूरा भएको बताए।

नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रदेशस्तरमा समावेश गरिएका तस्बिर मात्रै काठमाडौँको राष्ट्रिय प्रदर्शनीमा समावेश गरिने छन्।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालि अहिले प्रदर्शनीका लागि कर्णाली प्रदेश पुगेका छन्। उनले भने, “प्रदर्शनीलाई विगतमा सिधैँ राष्ट्रिय (केन्द्र) भनेर काठमाडौँ केन्द्रित गरिएको थियो, त्यसो गर्दा भौगोलिक र आर्थिक रूपले सर्जकको सहभागिता खासै नभएको सन्दर्भमा पहिलो पटक प्रदेश प्रदर्शनीले अझ बढी उत्साह जगाएको छ।” उनले यसपटक पुुरस्कार रकम  थप गरिएको जानकारी दिए।

कर्णालीको प्रदर्शनीमा ४६ कलाकारका ६६ कलाकृति समावेश गरिएका छन्। कर्णाली प्रदेशको प्रदर्शनी यही फागुन २१ गतेसम्म चल्नेछ। गण्डकीमा फागुन १९–२३ गतेसम्म, सुदूरपश्चिममा फागुन २०–२४ सम्म, लुम्बिनीमा फागुन २२–२६ सम्म, कोशीमा फागुन २९ देखि चैत ३ सम्म, मधेसमा चैत २ देखि चैत ५ सम्म तथा बागमतीमा चैत १२ देखि १६ गतेसम्म प्रदर्शनी गरिने छ। प्रदर्शनीबाट छानिएका कलाकृति २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा राखिने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.