|

धनगढी : केन्द्रमा सत्ता गठबन्धन फेरिएर सुदूरपश्चिममा नेपाली काँग्रेसका मुख्यमन्त्रीले नेकपा माओवादी केन्द्रका सबै मन्त्रीलाई बर्खास्त गरेपछि समर्थन फिर्ता लिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट केन्द्रको सत्ता नेतृत्वको दल माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको हो।

आज (बुधबार) बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ले जानकारी दिए।

अस्ति केन्द्रमा गठबन्धन फुटेर नयाँ समीकरण बनेकोमा हिजोमात्रै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसपछि आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

हिजो मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए।​

सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद छन्। माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार बहुमतमै रहेको छ। अहिलेसम्म कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ।

यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदासम्म २९ सांसदको समर्थन देखिन्छ।

समाजवादी रणभुल्ल
यस्तै सुदूरपश्चिमको सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी भने रणभुल्लमा परेको छ। नयाँ एमालेसहितको समीकरणका प्रवेशका लागि वार्ता चलिरहेकाले अहिलेसम्म प्रदेशमा पनि अनिर्णित बनेको छ। सुदूरपश्चिममा हालसम्म समाजवादी पर्ख र हेरको अवस्थामा छ। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको समाजवादीले बदलिएको नयाँ राजनीतिक समीकरणपछि सुदूरपश्चिममा अझै ठोस निर्णय गर्न नसकेको हो।

मंगलबार बसेको समाजवादीको संसदीय दलको बैठकले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने निर्णय गरेको संसदीय दलको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.