|

विराटनगर : नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ।  विभेद र अवसरमा  कम सहभागितासँगै  कतिपय स्थानमा काम गर्न असहज परिस्थितिसमेत पैदा भएको पाइन्छ।

तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागिता  उल्लेख्य भएको पाइन्छ। तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरुलाई अवसरसँगै चुनौती उत्तिकै भएको पाइन्छ।

यसै सन्दर्भमा पत्रकार महिलाहरुलाई नेतृत्वमा के –कस्ता चुनौती छन्? नेतृत्व स्थानमा रहेको पत्रकार महिलालाई  सोधेका छौँ।

चुनौती सामना गर्न आफैँ अघि बढ्नुपर्छ : विमला तुम्खेवा

पत्रकार महिलाहरुको छाता संगठन संचारिका समूहका केन्द्रीय अध्यक्ष विमला तुम्खेवा आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक  पूरा गर्न सके चुनौतीहरु यसै सामना गर्न सकिने बताउँछिन्।

आधुनिक नेपालको विकासक्रमसँगै नेपाली समाजको विकास र अवस्थालाई  मनन गर्दा राजनीतिक परिवर्तन  उपस्थितिहरुमा  महिलाको सहभागिताले पनि नेपाली महिलाले प्राप्त  गरेको समग्र अधिकारहरु निराशजनक नभएको धाराणा राख्छिन्। उनी  तीन दशकदेख पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन्।

नेतृत्व तहमा काम गर्न महिलाका लागि कस्तो चुनौती छ? भन्ने प्रश्नमा उनी  प्राविधिक, व्यवहारिक, संस्थागत र वैचारिक रुपमा नेतृत्वमा बस्ने महिलालाई त्यति सहज नभए पनि यसैलाई अवसरको रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिन्छिन्।

विकसित मुलुकमा  एउटा प्रणाली बनिसकेको हुँदा हरेक नागरिकले राज्यलाई के दिने भन्ने सोँच उनीहरुमा रहेको बताउँदै उनले  नेपालमा नेतृत्व तहमा कसरी काम गर्ने भन्ने सिक्दै गरेको बताइन्।

समाजिक संघ–संस्था पनि सेवाका नाममा व्यापार भएकाले यस्तो प्रणालीमा काम गर्न त्यति सहज नभए पनि  सहज बनाउँदै अगाडि बढ्नुपर्ने उनी तर्क राख्छन्।

नेतृत्वमा महिलाको पहुँच पुग्नु र सफल नेतृत्व हुनु संघ– संस्थाले महिलाका लागि सहज वातावरण सिर्जना गरिदिनु जरुरी रहेको बताउँदै उनी भन्छिन्, ‘नेतृत्वमा धैर्यता, निरन्तरता र लगाव अनि आफूले पाएको जिम्मेवारीमा इमानदारिता चाहिँ हुनु जरुरी छ।’

पछिल्लो समय पत्रकार महिला विस्थापित हुने संख्या बढ्दो छ नि?  यो प्रश्नमा उनले  काम गर्ने सीप र क्षमता प्रस्तुत गर्ने मौका दिँदै सक्रिय पत्रकार महिलाहरुलाई सकारात्मक साथ दिन जरुरी रहेको  आर्थिक, समाजिक रूपमा बलियो बनाएर लग्नु जरुरी रहेको बताउँछिन्।

यसका लागि संचारिका समूहले पत्रकार महिलाहरुलाई 'फेलोसिप’, तालिमहरु  प्रदानसमेत गर्दै आइरहेको उनको भनाई थियो।

साथीबाटै सहयोग पाइनँ : सरिता बराइली

महिला पनि पुरुषसँग समान  हैसियत बोकेको भएपनि विविध बाहनाले नेतृत्व नस्विकार्ने अवस्था यथावत नै रहेको नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइली बताउँछिन्।  यसमा पुरुषले मात्रै नभएर महिला स्वयम्ले पनि महिला नेतृत्व स्विकार गर्न गाह्रो मान्ने गरेको  उनको भनाइ छ।

‘नेतृत्वमा पुग्दा  सहकर्मीहरुमा त झनै साथ, सहयोग, हौसला भन्ने कुरा अपेक्षाअनुसार नहुने रहेछ,’ उनी भन्छिन्,‘मैले आफैँले नेतृत्वमा पुग्दा निक्कै हीनताबोध महसुस गरेँ खासै सहयोग गरेको महसुस गरिनँ, तर आफैँले आफैँलाई बलियो बनाउनुपर्ने चाहिँ रहेछ।’

 नेतृत्व तहमा पुगेपछि  हरेक असहयोगलाई अवसरको रूपमा लिएर हिम्मतका साथ अगाडि बढेको बताउने उनी हार्ने छुट पनि नभएको बताउँछिन्।

परिवार, बच्चा र आफ्नो करियरलाई एउटै रफतारमा लिएर अगाडि बढ्नुपर्ने पत्रकार महिलाहरुका लागि ठूलो चुनौती भए पनि यसलाई सँगै मिलाएर लग्न सके सफलता प्राप्त हुने उनको बुझाइ छ।

आउने पुस्ताहरुले तमाम समस्यासँगै अबको पत्रकारिता प्रविधिमैत्री भएकाले प्रविधिको भरपुर प्रयोग गरेर अगाडि बढ्न सके अबको पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताका पत्रकार महिलाहरुलाई स्थापित हुन सहज हुने  उनी बताउँछिन्।

 महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ : इन्दिरा भट्टराई

संचारीका समूहकी प्रदेश अध्यक्ष  इन्दिरा भट्टराई तुलनात्मक हिसाबले महिला र पुरुषको समान पेसामा विश्वास कम भए पनि न्यूनीकरण भने नभएको बताउँछिन्।

‘समाजिक क्षेत्रमा महिला र पुरुष  एउटै पेसामा भए पनि उनीहरुलाई  हेर्ने दृष्टिकोण  छुट्टाछुट्टै हुन्छ, चुनौती, अवसर कम, स्रोतले गर्ने विश्वास कम गर्ने जस्ता विषय  तुलनात्मक हिसाबले घटे पनि निर्मूल भएको छैन,’ उनी भन्छिन्,‘ निर्मूल होस भन्ने  हाम्रो आन्दोलन हो।’

पत्रकार महिलाहरुलाई चनौतीपूर्ण क्षेत्रमा रिपोर्टिङ बिट दिन मिडिया हाउस अझै पनि हिचकिचाउने अवस्था नघटकेको बताउँदै उनले  अझै पनि बेलुकाको रिपोर्टिङमा हिँड्दा समाजले हेर्ने दृष्टिकोण नै महिलाका लागि नकरात्मक हुने गरेको धारणा राख्छिन्।

महिलालाई समान अधिकार दिनुपर्छ भन्ने संविधानमा उल्लेख  गरको र ज्यालामा बराबरीको कुरा समानताका कुराहरु महिला आन्दोलनको रूपमा खबरदारीका कुरा  हुँदा महिलालाई समावशी ढंगले अवसर दिएर नेतृत्वमा पुर्‍याएको विषय सकारात्मक रहेको उनको भनाइ छ।

मिडिया हाउसले महिलालाई सम्पादक स्तरमा विश्वास गरिहाल्ने वातावरण अहिले पनि सृजना नभएकाले अब आउने पुस्ताले पनि यसको लडाइँ लड्न चाहिँ जरुरी रहेको उनको बुझाइ छ। यो क्षेत्रमा चुनौतीसँगै अवसर पनि भएकाले अब आउने नयाँ पुस्ताले प्रविधिको विकाससँगै बदलिएको पत्रकारिताको आधारमा अगाडि बढे यो क्षेत्रमा स्थापित हुन सकिनेसमेत उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.