|

विराटनगर : नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय कुनै एक समुदायको सांस्कृतिक पक्षलाई समेट्नु सकारात्मक  मान्नुपर्छ।

आफ्नो समुदायबाट टाढा रहेर हुर्किएका पुस्ताहरूका लागि लिम्बू संस्कृति र परम्पराका विषय समेटेर निर्माण भएको नेपाली फिल्म ‘नुमाफुङ’, ‘जारी’ले केही न केही पाठ सिकाएकै छ। 

आफ्नो समुदायमा चलनचल्तिमा आएका मुन्धुमका कुरा, धर्मका कुरालाई फिल्ममार्फत लेखकका कथालाई निर्देशकले प्रस्तुत गर्न सक्नु विशेष खुबी हो। भर्खरै लिम्बू समुदायको परम्परामा आधारित फिल्म जारीले खुब चर्चा कमाउन सफल भयो।

त्यसलगत्तै देवेन्द्र खापुङ ‘सुर्केली’ द्वारा लिखित फिल्म ‘सुगुप’  विराटनगरमा प्रिमियर शो गरेर प्रदर्शनमा आएसँगै यहाँका दर्शकको मन जित्न सफल भएको छ।

८० प्रतिशत  लिम्बू भाषाले प्रभाव परेको ‘सुगुप’ नेपाली र अँग्रेजी भाषामा अनुवाद गरिएको छ।

फिल्मको प्रमुख भूमिकामा रहेकी फुङसा (बबिता नयोङहाङ) र फेदापे (मौसम लिम्बू- फुलन्देको बाउ) को प्रेमिल सम्बन्धबाट कथाको सुरुवात हुन्छ। वर्गीय असमानताले केही वर्ष छुट्टिएर बस्नु परेका पतिपत्नीको पीडा पनि फिल्ममा चित्रण गरिएको छ।  

मधेशी समुदायको बाहुल्यता रहेको विराटनगरमा फिल्म हेर्नेहरूको लर्कोमा समावेशीता महसुस गर्न सकिन्थ्यो। ती सबै जातजातिका दर्शकहरूको  प्रतिक्रियाअनुसार  लिम्बू समुदायका महिला गर्भवती हुँदा मुन्धुम र विज्ञानबीचको सम्बन्धमा समेत सोच्न बाध्य बनाएको थियो।

फिल्ममा प्रेम सुब्बा, मौसम लिम्बूबाहेक नयाँ अनुहारका कलाकार धेरै छन् तर नयाँ अनुहारमा पनि अभिनय खासै फिक्कापन देख्न सकिएन किनभने कथाले दिन खोजेको विषयको सन्देश बेजोड थियो।

लिम्बू मुन्धुम अथवा परम्पराअनुसार लिम्बू समुदायकी महिलाको मृत्यु प्रसवका समयमा भएमा ‘सुगुप’ भन्ने गरिन्छ।

प्रसवको समय मृत्यु भएकी अर्थात सुगुप भएकी महिलाको अन्त्येष्टि अलिकति घोप्टो पारेर गरिने प्रचलन छ। मृत्युपछि कुनै कष्ट र संकट आउन नदिन बिजुवाले रातभर लिम्बू मुन्धुमअनुसार झारफुक गर्ने प्रचलन फिल्ममार्फत देखाइएको छ।

यसमा परम्परागत मान्यतासँगै  विज्ञानलाई समेत उत्तिकै मान्यतामा दिइएको छ। फिल्ममा अर्की नायिका माक्सोती (सुम्निमा खापुङ) मुख्य नायिकाकी भदैनी हुन्छिन्।

फुपू अर्थात फुङ्सालाई माग्न आउँदा फुपू प्रेमीसँग भागेपछि तिनै माग्न आएका केटासँग माक्सोतीको विवाह हुन्छ। त्यहीँबाट शुरु भएको कथामा गर्भवती अवस्थामा पतिको साथ र नियमित स्वास्थ्य जाँचले गर्भमा रहेको बच्चासँगै आमा पनि सुरक्षित हुन्छन् भन्ने मान्यतालाई पनि फिल्ममा  देखाउन खोजिएको छ।

लिम्बू मुन्धुमअनुसार गर्भवतीले खोलानाला तर्न नहुने, किला, दाम्लो नाघ्न नहुने, ढिकीजाँतो चलाउन नहुने मान्यता रहेको छ।

त्यसमा पनि लिम्बू समुदायमा गर्भवती भएपछि साप्पोक चोमेन (पेट पूजा) गर्नैपर्ने मान्यता रहेको छ। यो दृष्य फिल्ममा पनि देख्न सकिन्छ। परम्परागत मान्यताअनुसार पेट पूजा गर्दै नियमित स्वास्थ्य जाँच गर्ने माक्सोती आफूसँगै स्वस्थ बच्चा जन्माएर माइतबाट घर फर्किन्छिन्।

उता, माइतीमा नै बसेकी फुङसाले गर्भावस्थामा अनेकौँ पीडा र दुःख झेल्नु परेको‚ पति साथमा नहुँदा आफ्नो ख्याल गर्न नसक्नुको पीडा त्यसमा पनि परम्पराअनुसार पेट पूजा ढिला हुँदा र नियमित स्वास्थ्य जाँच गर्न नजाँदा गर्भवतीले प्रसवको समय देहत्याग गर्नुपर्ने अवस्था आउन सक्ने दृश्य पनि फिल्ममा देख्न सकिन्छ।

फिल्म मुन्धुम र परम्परागत मान्यतामा मात्रै आधारित छैन। यसले जनस्तरमा केही सन्देशसमेत प्रवाह गरेको छ भन्दा फरक नपर्ला। 

लोकेन साँवाको निर्देशन गरेको ‘सुगुप’मा यासेली योङहाङ, रविन नाल्बोलगायतको अभिनयमा खोट लगाउने कुनै ठाउँ छैन।

लिम्बू समुदायमा महिलालाई उच्च सम्मानका साथ राख्ने गरिन्छ तर फिल्ममा भने गर्भवतीलाई जंगलमा निर्मम तरिकाले लछारपछार गरेको देखाउँदा निर्देशक कहीँ कतै चुकेको जस्तो महसुस हुन्छ।

यस्ता कमीकमजोरी सुधार्न सके फिल्मले आउने नयाँ पुस्तालाई लिम्बू समुदायको परम्परा र संस्कारलाई जीवन्त र दस्तावेजीकरण हुन्छ भन्दा फरक पर्दैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.