|

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन्।

मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताए। 

उनले समायोजन गर्ने निर्णय कार्यान्वयन गर्ने मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार पारेको भन्दै उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने प्रतिबद्धता जनाए। मन्त्री तामाङले दुई संस्थाको समायोजनले नयाँ खालको उत्साहित वातावरण बनाउने दावी गरे। 

उनले नाथम गठन आदेशबाट निर्माण भएको भन्दै संस्था व्यवस्थित बनाउन आवश्यक ऐन बनाउनेतर्फ मन्त्रालयले तयारी गरिरहेको बताए। उनले मन्त्रालय चाँडै नै यस सम्बन्धित ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा रहेको बताए। 

उनले ऐन बनेसँगै नाथमको  गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु हट्ने बताए। 

उनले दुई संस्थाबीचको समायोजनबाट पर्यटन प्रवर्द्धनमा थप विकास गर्ने, दिगो उत्पादन गर्ने, रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान गर्ने अपेक्षा रहेको बताए।

‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आगामी दिनमा टिचिङ होटलहरु सञ्चालन गर्ने, सिप सिक्ने र कमाउने योजना बनाएको छ। नाथम महत्वपूर्ण उपलब्धि हासिल गरेर प्रतिष्ठित संस्थाको रुपमा विकास भइरहेको छ‚’ उनले भने, ‘नाथमजस्तै प्रकृतिको नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठान आपसमा समायोजन गरेर जाने सरकारको निर्णयअनुसार मन्त्रालयले गठन गरेको कार्यदलले सञ्चालन मोडालिटी कस्तो कस्तो बनाउने भन्ने प्रतिवेदन तयार पारेको छ। चाँडै यो ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा छौँ।’

उनले पर्यटन बोर्डको प्रमुख कार्यकारी चाँडै नियुक्त हुने पनि बताए। उनले सिइओ छनोट अन्तिम चरणमा रहेकाले केही दिनमा नै बोर्डले नेतृत्व पाउने उल्लेख गरे।

‘पर्यटन बोर्डको अभिभावक नहुँदा पर्यटन क्षेत्रमा काम हुन नसकेको गुनासो आएको छ‚’ उनले भने‚ ‘सरकारले चाँडै पर्यटन बोर्डको बोर्ड कमिटी बनाएर प्रमुख कार्यकारी नियुक्ति गर्ने प्रक्रियामा रहेको छ। यसमा मन्त्रालय गम्भिर छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.